स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सूचना अधिकारी डा. भक्तबहादुर केसीको सरुवा भएको छ। उनलाई स्वास्थ्य तालिम केन्द्रमा सरुवा गरिएको मन्त्रालय स्रोतले जनाएको छ।
मन्त्रालयमा वरिष्ठ स्वास्थ्य प्रशासकको दरबन्दी नरहेपछि डा. केसीलाई स्वास्थ्य तालिम केन्द्रमा पदस्थापन गरिएको बताइएको छ। नयाँ संगठन तथा व्यवस्थापन (ओ एण्ड एम) संरचनाअनुसार मन्त्रालयमा रहेको वरिष्ठ स्वास्थ्य प्रशासकको दरबन्दी हटाइएपछि उनको सरुवा गरिएको हो। नयाँ ओ एण्ड एम संरचनाले मन्त्रालयको संगठनात्मक संरचना तथा विभिन्न पदको दरबन्दीमा पुनरावलोकन गरेको छ। सोही क्रममा मन्त्रालयमा रहेको वरिष्ठ स्वास्थ्य प्रशासकको दरबन्दी हटाइएको थियो। दरबन्दी नै नरहेको अवस्थामा उनलाई मन्त्रालयमा निरन्तर राख्दा कानुनी तथा प्रशासनिक जटिलता उत्पन्न हुने भएपछि तालिम केन्द्रमा सरुवा गरिएको मन्त्रालय स्रोतको भनाइ छ।मन्त्रालयमा सूचना अधिकारीका रूपमा कार्यरत रहँदा डा. केसीले मन्त्रालयका निर्णय, गतिविधि तथा स्वास्थ्यसम्बन्धी विषयमा सञ्चारमाध्यमसँग समन्वय गर्दै आएका थिए।
मन्त्रालयको नयाँ संगठन संरचना कार्यान्वयनमा आएसँगै विभिन्न पद तथा कर्मचारीको जिम्मेवारी र पदस्थापनमा परिवर्तन भइरहेको छ। डा. केसीको सरुवालाई पनि नयाँ ओ एण्ड एम संरचनाअनुसार गरिएको प्रशासनिक व्यवस्थापनका रूपमा हेरिएको छ।

Online Arthik








