काठमाडौं महानगरपालिकाले महानगरको सर्वाङ्गीण विकासका लागि आवश्यक नीतिगत तथा कार्यमूलक अनुसन्धान गर्न ‘मेयर्स रिसर्च फेलोसिप २०८३’ का लागि अनुसन्धान प्रस्ताव आह्वान गरेको छ। महानगरपालिकाको सहरी योजना आयोगको सचिवालयले मंगलबार सूचना जारी गर्दै इच्छुक नेपाली अनुसन्धानकर्ताबाट प्रस्ताव माग गरेको हो।
फेलोसिपको मुख्य उद्देश्य प्रमाणमा आधारित नीति निर्माणमा सहयोग पु¥याउनुका साथै नीतिगत अनुसन्धान, सहरी विकाससँग सम्बन्धित आयोजना पहिचान तथा कार्यमूलक अनुसन्धानलाई प्रोत्साहन गर्नु रहेको महानगरले जनाएको छ। सहरका विभिन्न आयामसँग सम्बन्धित ठोस तथा व्यावहारिक अनुसन्धानमार्फत विकास प्रक्रियालाई थप व्यवस्थित, प्रभावकारी र वैज्ञानिक बनाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गर्न लागिएको हो।
महानगरका अनुसार तोकिएको योग्यता पुगेका इच्छुक नेपाली अनुसन्धानकर्ताले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र रीतपूर्वक अनुसन्धान प्रस्ताव पेस गर्नुपर्नेछ। आवेदनका लागि आवश्यक योग्यता, प्रस्तावको ढाँचा, छनोट प्रक्रिया तथा अन्य विस्तृत सर्तहरू महानगरपालिकाको वेबसाइटमा प्रकाशित ‘कल फर एक्सप्रेसन अफ इन्ट्रेस्ट’ मा उल्लेख गरिएको छ।

Online Arthik










