बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले घरेलु तथा साना उद्योगको प्रवर्द्धन, औद्योगिक सुरक्षा र नयाँ उद्यमी उत्पादनका लागि आवश्यक नीतिगत सुधार गर्ने बताएका छन्। नेपाल घरेलु तथा साना उद्योग महासंघको सचिवालयमा आयोजित छलफलमा उनले स्थानीय कच्चा पदार्थको उपयोग, रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन र युवा पलायन रोक्न साना तथा मझौला उद्योगको महत्वपूर्ण भूमिका रहेको बताए।
मुख्यमन्त्री मगरले स्थानीय उत्पादनको प्रवर्द्धनका लागि हेटौँडामा निर्माण भएको ‘कोसली घर’ अन्य जिल्लामा समेत विस्तार गर्ने, महिला उद्यमीलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउने तथा जिल्लास्तरीय औद्योगिक प्रदर्शनीका लागि बजेट व्यवस्था गरिएको जानकारी दिए। उद्योगीलाई अप्ठ्यारो पार्ने ऐन, नियमावली तथा कार्यविधि संशोधन गर्न प्रदेश सरकार तयार रहेको पनि उनले बताए।
महासंघकी अध्यक्ष शोभा गुरुङले उद्योग दर्ता तथा नवीकरण प्रक्रिया सरल बनाउन, स्वदेशी उत्पादनलाई प्राथमिकता दिन र सरकारी खरिदमा कम्तीमा ३० प्रतिशत स्वदेशी एमएसएमई उत्पादन अनिवार्य गर्न माग गरिन्। कार्यक्रममा महिला तथा युवा उद्यमशीलता, औद्योगिक सुरक्षा, सहुलियतपूर्ण कर्जा, बजार विस्तार र स्थानीय उत्पादनको प्रवर्द्धनबारे समेत छलफल भएको थियो।

Online Arthik










