नेपाल धितोपत्र बोर्डले पुँजी बजारको समग्र सुधारका लागि नीतिगत सुधार, पूर्वाधार विकास र संस्थागत सुदृढीकरणलाई समेटेर तीन चरणको रणनीति अघि बढाएको छ। बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले प्राथमिक र दोस्रो बजार सुधारका लागि छुट्टाछुट्टै समिति गठन गरी सरोकारवालाको सहभागितामा नीति निर्माण र सार्वजनिक परामर्श अघि बढाइएको जानकारी दिएका छन्।

प्राथमिक बजारतर्फ आईपीओ निष्कासन, मूल्य निर्धारण, योग्य संस्थागत लगानीकर्ता, सेयर बाँडफाँट र म्युचुअल फन्डसम्बन्धी सुधारका नीति तयार भइसकेका छन्। दोस्रो बजारतर्फ भने ब्रोकर संस्थाको पुनर्संरचना गरी कार्यक्षमता र सेवाका आधारमा चार श्रेणीमा विभाजन गर्दै स्टक डिलरसहितको बृहत् संरचनामा लैजाने योजना बोर्डको छ।

त्यस्तै, नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्राविधिक पक्ष, अर्डर म्यानेजमेन्ट र साइबर सुरक्षामा सुधारलाई प्राथमिकता दिइएको छ। नेप्सेका लागि ३१ देखि ३२ वटा नयाँ नियमन तयार पारिएको र ती छिट्टै जारी गरिने अध्यक्ष भट्टले बताएका छन्।

तपाईको प्रतिक्रिया