कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्तनगर जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुल क्षतिग्रस्त भएपछि सरकारले प्राविधिक अध्ययन थालेको छ। सोमबार बिहान पुलको एउटा स्पान र बीचको टावर नदीमा खसेपछि पुलमा पूर्णरूपमा आवतजावत बन्द गरिएको छ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार पुल ‘डिसब्यालेन्स’ भएको सूचना पाएलगत्तै सुरक्षाकर्मी परिचालन गरी आवतजावत रोकिएको थियो। क्षतिको कारण पहिचान गर्न सुदूरपश्चिम प्रदेशको यातायात मन्त्रालयअन्तर्गत पूर्वाधार निर्देशनालयको प्राविधिक टोली बोलाइएको छ।
प्राविधिक अध्ययनपछि प्रदेश सरकारको क्षेत्राधिकारभित्र रहे मर्मत प्रक्रिया प्रदेशबाटै अघि बढाइने र आवश्यक परे संघीय सरकारसँग समन्वय गरिने प्रशासनले जनाएको छ। पुलको अवस्था जोखिमपूर्ण रहेकाले हेर्न वा भिडियो खिच्नसमेत घटनास्थलमा नजान प्रमुख जिल्ला अधिकारी कोइरालाले सर्वसाधारणलाई आग्रह गरेका छन्।

Online Arthik










