नेपालमा विद्युतीय सवारी साधन (इभी) को मोटर क्षमता सम्बन्धी विवाद र टिप्पणी बढिरहेका बेला नाइमाले यस विषयमा औपचारिक ध्यानाकर्षण जनाएको छ ।

संस्थाले इभी मोटर क्षमता परीक्षण, प्रमाणीकरण तथा प्राविधिक मूल्याङ्कनमा स्पष्ट र एकरुप नीति आवश्यक रहेको बताउँदै यसबारे अर्थ मन्त्रालय, उद्योग मन्त्रालय तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल गरिसकेको जनाएको छ ।

नाइमाका अनुसार नेपालमा आयात हुने इभीहरू अन्तर्राष्ट्रिय मान्यता प्राप्त उत्पादक कम्पनीका आधिकारिक प्राविधिक विवरण, परीक्षण प्रतिवेदन र प्रमाणीकरणका आधारमा भित्रिने गरेका छन् । एउटै मोडलका सवारी विभिन्न देशका नियमअनुसार फरक स्पेसिफिकेशनमा उत्पादन हुनु विश्वव्यापी अभ्यास भएकाले केवल वेबसाइट वा बाह्य स्रोतका आधारमा मोटर क्षमताबारे निष्कर्ष निकाल्नु उचित नहुने संस्थाको भनाइ छ ।

हाल नेपालमा इभी मोटर क्षमता परीक्षण तथा प्रमाणीकरणका लागि स्पष्ट राष्ट्रिय मापदण्ड, परीक्षण प्रणाली र एकीकृत कार्यविधि पूर्ण रूपमा कार्यान्वयनमा नरहेको नाइमाले उल्लेख गरेको छ । यही कारण विभिन्न सरकारी तह र बजारमा भ्रम तथा अन्योल सिर्जना भएको दाबी गरिएको छ ।

संस्थाले इभीको प्राविधिक मूल्याङ्कन गर्दा आधिकारिक उत्पादक कम्पनीका प्रमाणित विवरण, अन्तर्राष्ट्रिय परीक्षण निकायका प्रमाणपत्र तथा स्थापित मापदण्डलाई आधार बनाउनुपर्नेमा जोड दिएको छ । साथै सरकारी निकायबीच एउटै व्याख्या र कार्यान्वयन सुनिश्चित गर्न स्पष्ट कार्यविधि, परीक्षण पूर्वाधार र प्रमाणीकरण प्रणाली तत्काल विकास गर्न आग्रह गरिएको छ ।

नाइमाले विद्युतीय सवारीलाई स्वच्छ ऊर्जा, दिगो यातायात र हरित अर्थतन्त्र प्रवर्द्धनको महत्वपूर्ण माध्यमका रूपमा व्याख्या गर्दै इभी विस्तारले वातावरण संरक्षण र दीर्घकालीन दिगोपनामा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

संस्थाले अपुष्ट सूचना तथा फरक–फरक व्याख्याले बजारमा अन्योल सिर्जना गर्ने, उपभोक्ता विश्वास घटाउने र लगानी वातावरणमा असर पार्ने भएकाले तथ्य र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा मात्रै विश्लेषण गर्न आग्रह गरेको छ । साथै सरकार र सम्बन्धित निकायसँग सहकार्य गरेर पारदर्शी र व्यवहारिक प्राविधिक प्रणाली विकासमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

तपाईको प्रतिक्रिया