रेल, मेट्रोरेल तथा मोनोरेल विकास आयोजना अन्तर्गत निर्माणाधीन सिमरा–बर्दिबास रेल खण्डको ठेक्का सम्झौता अन्त्य गर्ने प्रक्रिया अघि बढाइएको छ।

रेल योजना कार्यालय, लालबन्दी (सर्लाही) ले निर्माण व्यवसायी महालक्ष्मी/हिरा एण्ड नमिता जेभीसँग भएको खरिद सम्झौता रद्द गर्ने तयारीस्वरूप १५ दिने स्पष्टीकरण सोधेको जनाएको छ।आयोजनाअनुसार रेल विभाग र उक्त कम्पनीबीच २०७० मङ्सिर २१ गते निर्माण सम्झौता भएको थियो। पछि २०७७ मङ्सिर २८ गते योजना हस्तान्तरण भई रेल योजना कार्यालय, लालबन्दीमार्फत कार्यान्वयन हुँदै आएको थियो।सम्झौताअनुसार सिमरा–बर्दिबास रेल खण्डअन्तर्गत चेन ७९+६०० देखि ८०+५०० सम्मको रेल ट्र्याक बेड निर्माण कार्य २०८२ कात्तिक २९ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने व्यवस्था थियो। तर पटक–पटक लिखित तथा मौखिक रूपमा ताकेता गरिए पनि निर्माण कार्य सन्तोषजनक रूपमा अघि नबढेको कार्यालयको भनाइ छ। कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ तथा सम्बन्धित उपदफाअनुसार सम्झौताको शर्त उल्लङ्घन भएको निष्कर्ष निकाल्दै सम्झौता अन्त्य गर्ने प्रक्रिया सुरु गरेको जनाएको छ।

निर्माण व्यवसायीलाई सम्झौता किन अन्त्य गर्नु नपर्ने हो भन्ने सम्बन्धमा कुनै मनासिब कारण भए १५ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ।

तपाईको प्रतिक्रिया