ग्लोबल आइएमई बैंक लिमिटेड को अगुवाइमा १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाका लागि वित्तीय व्यवस्थापनसम्बन्धी दुई पक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। आयोजनाको प्रवर्द्धक क्रिष्टल पावर डेभलपमेण्ट प्रा। लि। र सहभागी बैंकहरूबीच भएको उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी को उपस्थितिमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दीप चन्द्र रेग्मी तथा कम्पनीका कार्यकारी प्रमुख कृष्णप्रसाद आचार्यलगायतले हस्ताक्षर गरेका हुन्।
करिब २५ अर्ब रुपैयाँ अनुमानित लागत रहेको यस आयोजनामा बैंकहरूको कन्सोर्टियममार्फत करिब १९ अर्ब रुपैयाँ लगानी गरिनेछ। कन्सोर्टियममा सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक सह(अगुवाइ बैंकका रूपमा रहेका छन् भने कृषि विकास बैंक र नेपाल एसबिआई बैंक सहभागी बैंकका रूपमा रहेका छन्।
लगानी संरचनाअनुसार ग्लोबल आइएमई बैंकले ५ अर्ब, सिद्धार्थ बैंकले ४ अर्ब, लक्ष्मी सनराइज बैंकले ४ अर्ब, प्रभु बैंकले ३ अर्ब ५० करोड, कृषि विकास बैंकले १ अर्ब ५० करोड र नेपाल एसबिआई बैंकले १ अर्ब रुपैयाँ लगानी गर्नेछन्। कुल लागतको ७५ प्रतिशत बैंक ऋण र बाँकी २५ प्रतिशत संस्थापक तथा अन्य लगानीकर्ताबाट जुटाइनेछ। ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका स्थित तमोर नदीमा निर्माण हुने यो आयोजना निर्माण सुरु भएको मितिबाट ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

Online Arthik









