स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको कालोपत्रे कार्य बिटुमिन अभावका कारण दुई महिनादेखि रोकिएको छ। आवश्यक निर्माण सामग्री उपलब्ध नभएपछि सडक निर्माणको काम प्रभावित बनेको हो।

डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार गत चैतमा रातिको समयमा सवारी आवागमन बन्द गरी तथा दिउँसो एकतर्फी सञ्चालन गरेर करिब २.५ किलोमिटर सडकमा पहिलो चरणको डिबिएम कालोपत्रे सम्पन्न गरिएको थियो।
तर त्यसपछि बिटुमिन अभाव हुँदा बाँकी काम अघि बढ्न सकेको छैन। पहिलो चरणमा गरिएको डिबिएम कालोपत्रेमाथि बिछ्याउनुपर्ने  अन्तिम तहको आस्फाल्टसमेत हालसम्म रोकिएको छ। चार किलोमिटर लम्बाइको यस 
सडकखण्डमा बाँकी रहेको करिब १.५ किलोमिटर क्षेत्रमा वैशाखको पहिलो साताबाट निर्माण कार्य सुरु गर्ने योजना भए पनि 
सामग्री अभावले कार्यतालिका प्रभावित भएको हो।हाल यात्रुलाई सहज आवागमन गराउन सडकका खाल्डाखुल्डी पुर्ने तथा नियमित मर्मतसम्भारका काम भइरहेको कार्यालयले जनाएको छ। बिटुमिन आयात भएपछि बाँकी
 भागमा बेस निर्माण, डिबिएम तथा अन्तिम आस्फाल्ट कालोपत्रे कार्य सम्पन्न गरिनेछ।लामो समयदेखि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण प्रभावित बनेको आयोजनालाई गत कात्तिकमा नयाँ निर्माण कम्पनीमार्फत 
अघि बढाइएको थियो। सी-एन ए-वन काली जेभीसँग भ्याटबाहेक ३१ करोड ५६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ। आयोजनाको काम आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।यसअघि तोकिएको समयभित्र 
सन्तोषजनक प्रगति गर्न नसकेपछि डिभिजन सडक कार्यालय भक्तपुरले गौरी-पार्वती निर्माण सेवासँगको ठेक्का रद्द गरेको थियो। उक्त कम्पनीले २०७९ जेठ २० गते २२ महिनाभित्र आयोजना सम्पन्न गर्ने सम्झौता गरेको भए पनि निर्धारित 
समय सकिएको ११ महिनापछि समेत २५ प्रतिशतभन्दा कम प्रगति गरेकाले ठेक्का खारेज गरिएको थियो।

चीनसँग जोडिएको तातोपानी सीमा नाका तथा दोलखा, रामेछाप लगायत जिल्लामा आवागमनका लागि महत्वपूर्ण मानिने धुलिखेल–खावा सडकखण्डको निर्माणमा भएको ढिलाइले यात्रु तथा स्थानीयवासी प्रभावित बनेका छन्।

तपाईको प्रतिक्रिया