नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न आज ६० अर्ब रुपैयाँ बजारबाट संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले अल्पकालीन मौद्रिक उपकरणअन्तर्गत ९१ दिनका लागि निक्षेप संकलनमार्फत उक्त रकम उठाउन लागेको हो।
राष्ट्र बैंकका अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोलमा सहभागी हुन सक्नेछन्। न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको कुल रकमसम्म ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आवेदन दिन सकिने व्यवस्था गरिएको छ। यस निक्षेप संकलन कार्यक्रममा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले सहभागिता जनाउन सक्नेछन्। संकलित रकमको साँवा तथा ब्याज आगामी असोज २६ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
बैंकिङ प्रणालीमा तरलता सन्तुलन कायम राख्न तथा मौद्रिक स्थायित्व सुनिश्चित गर्न राष्ट्र बैंकले नियमित रूपमा यस्ता मौद्रिक उपकरण प्रयोग गर्दै आएको छ।

Online Arthik










