नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार गगनकुमार थापाले मतदानका लागि लाइनमा बसेका मतदातासँग मत मागेका छन्। उनी मतदातामाझ पुगेर मत मागिरहँदा उपस्थित मतदाता उत्साहित देखिएका थिए।
पार्टीको १५औँ महाधिवेशन समयमै सम्पन्न गराउने र विधानअनुसार पार्टी सञ्चालन गर्ने विषयलाई अघि बढाउँदै थापा नेतृत्वमा आएका हुन्। उनकै नेतृत्वमा कांग्रेसले गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा भाग लिएको थियो।
सभापति पदमा थापासँग काठमाडौं–६ का श्यामकृष्ण खड्गी प्रतिस्पर्धामा छन्। लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय थापा यसअघि पार्टीको महामन्त्रीसमेत भइसकेका छन्। उनी पहिलो पटक केन्द्रीय सदस्यमा निर्वाचित हुँदा सर्वाधिक मत प्राप्त गर्दै शीर्ष स्थानमा रहेका थिए।
जेन–जी आन्दोलनपछि पार्टीको नीति र कार्यशैलीलाई समयअनुकूल परिवर्तन गर्नुपर्ने धारणा राख्दै आएका थापाले मतदातालाई कुनै पनि समूहको प्रभाव वा दबाबमा नपरी स्वेच्छाले मतदान गर्न आग्रह गरेका छन्। उनले बिहान सामाजिक सञ्जालमार्फत पनि मतदातालाई स्वतन्त्र रूपमा मतदान गर्न अपिल गरेका थिए।

Online Arthik










