त्रिशूली–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि कुमारी बैंक लिमिटेडका कर्मचारीले ४५ लाख ९७ हजार ३५३ रुपैयाँ ५० पैसा सहयोग गरेका छन्। कर्मचारीहरूले स्वेच्छिक रूपमा आफ्नो तलबबाट रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम योगदान गरेका हुन्।

बैंकका अनुसार प्राकृतिक विपद्बाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै संकलन गरिएको रकम राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा उपयोग हुनेछ। बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्का समयमा प्रभावित समुदायलाई सहयोग गर्दै आएको जनाएको छ।

यसअघि बैंकले बाढी प्रभावितको राहत, उद्धार, पुनःस्थापना तथा पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको थियो। त्यस्तै, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन गृह मन्त्रालयलाई ३९ लाख रुपैयाँ बराबरका ड्रोन, पावर बैंक, जेनेरेटरलगायत विपद् व्यवस्थापन सामग्री उपलब्ध गराएको थियो।

तपाईको प्रतिक्रिया