बडादसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला भएसँगै बसपार्कमा चहलपहल बढ्न थालेको छ । गोंगबुस्थित नयाँ बसपार्कमा बिहानैदेखि यात्रुहरू टिकट लिन पुगेका छन् । तर, यसपटक विगतका वर्षको तुलनामा यात्रुको चाप केही कम देखिएको यातायात व्यवसायीहरूको भनाइ छ ।
पश्चिम नेपाल बस व्यवसायी प्रालिका काठमाडौं शाखा इन्चार्ज डिल्लीराज भुसालले शुक्रबार कार्यालय खुल्ने दिन भएकाले यात्रुको उपस्थिति कम रहेको बताए । उनका अनुसार शनिबार र आइतबार यात्रुको चाप बढ्न सक्नेछ । पहिलो दिनमै यात्रुको संख्या यकिन गर्न कठिन हुने भएकाले आगामी दिनको अवस्थाले दसैँको यात्रु चापबारे स्पष्ट पार्ने उनले बताए ।यात्रुको सहजताका लागि अनलाइन र बसपार्कका काउन्टरबाट टिकट बिक्री भइरहेको छ । यात्रुको मागअनुसार कर्मचारी परिचालन गरिएको र आवश्यक परे थप बस सञ्चालन गरिने व्यवसायीहरूले बताएका छन् । नयाँ बसपार्कमा सवारीसाधनको अभाव नरहेको तथा टिकट बिक्री र यात्रु व्यवस्थापनलाई व्यवस्थित बनाउन निगरानी बढाइएको जनाइएको छ ।दाङ जाने यात्रुको व्यवस्थापन पनि यसपटक तुलनात्मक रूपमा सहज रहेको त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिले जनाएको छ । यात्रुलाई लाइनमा राख्न स्वयंसेवक परिचालन गरिएको छ भने यात्रुको चाप बढेमा थप बस सञ्चालन गर्ने तयारी गरिएको छ । दसैँका लागि भाडा वृद्धि नगरिएको र सरकारले निर्धारण गरेको दरभन्दा बढी रकम नलिइएको यातायात व्यवसायीहरूको दाबी छ । केही साताअघि भएको बाढीपहिरो र वर्षाका कारण सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित भएको थियो । अहिले मौसममा सुधार आएपछि सवारी आवागमन सहज बन्दै गएको व्यवसायीहरूले बताएका छन् । दाङबाट काठमाडौं आउने बस बिहान करिब ६ बजे आइपुग्ने गरेको र काठमाडौंबाट छुटेका बस पनि गन्तव्यतर्फ नियमित रूपमा सञ्चालन भइरहेको उनीहरूको भनाइ छ ।यात्रुहरूले भने टिकट व्यवस्थापनमा सहजता देखिए पनि भाडा महँगो भएको गुनासो गरेका छन् । कालिकोटका कसम विकले विगतमा २ हजार २०० देखि २ हजार ५०० रुपैयाँसम्ममा यात्रा गरेकोमा यसपटक करिब ३ हजार १०० रुपैयाँ तिर्नुपर्ने अवस्था रहेको बताए । उनले चाडपर्वका बेला यात्रुलाई राहत दिन सरकारले भाडादर घटाउन पहल गर्नुपर्ने बताए ।
त्यस्तै, प्युठानका सुमन थापाले विगतका वर्षमा प्युठान जाने टिकट पाउन कठिन हुने गरेको स्मरण गर्दै यसपटक दाङसम्मको टिकट सहजै पाएको बताए । पहिले एउटै सिटको दोहोरो टिकट काटिने समस्या रहेको उल्लेख गर्दै उनले दाङबाट भालुवाङ हुँदै प्युठान जान सकिने भएकाले यसपटक घर फर्किन सहज भएको बताए ।

Online Arthik










