शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले ५० लाख रुपैयाँसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाख रुपैयाँसम्मको सवारीसाधन खरिद गर्न सक्नेछन्। त्यस्तै, माध्यमिक तृतीय श्रेणी तथा निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाख रुपैयाँसम्मको दुईपाङ्ग्रे सवारीसाधन खरिद गर्न सक्नेछन्।
नियमावलीमा बैंकमार्फत हुने वित्तीय व्यवस्थाअन्तर्गत सवारीसाधन खरिदको लागतमा लाग्ने किस्तागत ब्याजको ८० प्रतिशतसम्म सरकारले व्यहोर्ने प्रस्ताव गरिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैँ व्यवस्थापन गर्नुपर्नेछ।
प्रस्तावअनुसार शिक्षक सेवामा बहाल रहेसम्म सम्बन्धित बैंकले निर्धारण गरेको किस्तागत ब्याजमा सरकारले सहुलियत उपलब्ध गराउने व्यवस्था गरिएको छ। यद्यपि, यो व्यवस्था हाल प्रस्तावित अवस्थामा रहेकाले कार्यान्वयनका लागि सम्बन्धित निकायको सहमति र स्वीकृति आवश्यक हुनेछ।

Online Arthik









