प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकलाई लक्षित गर्दै आकर्षक घर कर्जा तथा सवारी साधन कर्जा योजना सार्वजनिक गरेको छ। ग्राहकको वित्तीय आवश्यकता सहज, सरल र किफायती रूपमा पूरा गर्ने उद्देश्यले योजना ल्याइएको बैंकले जनाएको छ।

घर कर्जा योजनाअन्तर्गत ग्राहकले अधिकतम ३ करोड रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन्। कर्जाको अवधि अधिकतम २५ वर्षसम्म रहनेछ भने सेवा शुल्क ०.५० प्रतिशत र ब्याजदर औसत आधार दरमा थप ०.५० प्रतिशत प्रतिवर्ष कायम गरिएको छ। बैंकका अनुसार यो सुविधा देशभरका ३०० शाखामार्फत उपलब्ध हुनेछ। योजनाअन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मतसम्भार र घर निर्माणका लागि जग्गा खरिद गर्न चाहने ग्राहकले कर्जा सुविधा लिन सक्नेछन्।त्यस्तै, व्यक्तिगत प्रयोजनका लागि सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै बैंकले अधिकतम ७ वर्ष अवधिको सवारी साधन कर्जा योजना पनि ल्याएको छ। यसमा सेवा शुल्क ०.५० प्रतिशत तथा ब्याजदर औसत आधार दरमा थप ०.५० प्रतिशत प्रतिवर्ष कायम गरिएको बैंकले जनाएको छ।कर्जाका लागि आवश्यक सम्पूर्ण कागजात पेश गरेको दुई कार्यदिनभित्रै डेलिभरी अर्डर उपलब्ध गराउने व्यवस्था गरिएको बैंकको भनाइ छ। यसबाट ग्राहकले आकर्षक ब्याजदरमा सहज रूपमा सवारी साधन खरिद गर्न सक्ने बैंकले जनाएको छ।

ग्राहकलाई छिटो, सरल र पारदर्शी कर्जा प्रक्रिया तथा गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यअनुरूप बैंकले यी योजना ल्याएको हो। घर तथा सवारी कर्जा योजनाबारे थप जानकारीका लागि नजिकको प्रभु बैंक शाखा, बैंकको वेबसाइट वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया