नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आजदेखि सर्वसाधारणका लागि आंशिक रूपमा खुला गरिएको छ। यसअघि आपतकालीन सेवाका सवारीसाधनलाई मात्र प्रवेश दिई परीक्षण हुँदै आएको सुरुङमार्ग अब कार, जिप र भ्यानजस्ता साना चारपाङ्ग्रे सवारीसाधनका लागि खुला गरिएको सडक विभागले जनाएको छ।
सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार सुरुङमार्ग अझै परीक्षणकै चरणमा रहेकाले हाल सीमित समय र आवश्यक व्यवस्थापनसहित सञ्चालनमा ल्याइएको हो। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले गत ११ साउनमा सुरुङमार्गको उद्घाटन गरेका थिए। उद्घाटनपछि सुरुङमार्गमा विभिन्न प्राविधिक तथा सञ्चालनसम्बन्धी परीक्षण हुँदै आएको थियो।
हाल अति प्रज्वलनशील पदार्थ बोकेका सवारीसाधन तथा दुईपाङ्ग्रे सवारीसाधनलाई सुरुङमार्ग प्रवेशमा रोक लगाइएको छ। ठूला सवारीसाधनलाई भने परीक्षण अवधि पूरा भएपछि मात्र सञ्चालन गर्न दिइने विभागले जनाएको छ।
हाल सुरुङमार्ग बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म एकतर्फी रूपमा सञ्चालन हुनेछ। परीक्षणका क्रममा अवस्था र व्यवस्थापनको मूल्याङ्कन गर्दै आगामी एक–दुई दिनभित्र क्रमशः दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी गरिएको छ। सुरुङमार्ग सञ्चालनको समय पनि क्रमशः विस्तार गर्ने योजना रहेको विभागले जनाएको छ। पहिलो चरणमा बिहान ७ बजेदेखि साँझ ८ बजेसम्म र त्यसपछि बिहान ६ बजेदेखि राति १० बजेसम्म सञ्चालन गर्ने तयारी गरिएको छ।

Online Arthik










