सुपर मादी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको भदौ ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव आगामी १७औँ वार्षिक साधारणसभामा पेश गर्ने निर्णय गरेको हो।
कम्पनीको हाल कायम चुक्तापूँजी २ अर्ब ३१ करोड ५२ लाख ५० हजार रुपैयाँको १५ प्रतिशत बराबर ३४ करोड ७२ लाख ८७ हजार ५०० रुपैयाँको बोनस सेयर वितरण गरिनेछ। यसअनुसार सेयरधनीले कुल ३४ लाख ७२ हजार ८७५ कित्ता बोनस सेयर पाउनेछन्। बोनस सेयरमा लाग्ने लाभांश कर प्रयोजनका लागि कम्पनीले चुक्तापूँजीको ०.७८९४७ प्रतिशत बराबर १ करोड ८२ लाख ७८ हजार २८९ रुपैयाँ ४७ पैसा नगद लाभांशसमेत दिने प्रस्ताव गरेको छ। बोनस र नगद गरी कम्पनीले कुल ३६ करोड ५५ लाख ६५ हजार ७८९ रुपैयाँ ४७ पैसा लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।प्रस्तावित लाभांश भने कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीलाई वितरण गरिनेछ। कम्पनीको १७औँ वार्षिक साधारणसभा असोज १ गते बिहीबार काठमाडौंको बत्तीसपुतलीस्थित होटल इम्पेरियलमा बिहान ११ बजे बस्ने भएको छ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले भदौ २३ गते एक दिन बुक क्लोज गर्ने भएको छ। त्यसैले भदौ २२ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनी मात्र प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन योग्य हुनेछन्।

Online Arthik










