बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत ७० अर्ब रुपैयाँ खिच्ने भएको छ। राष्ट्र बैंकले आज दिउँसो ३ बजे बोलकबोल हुने गरी दुई महिनाका लागि निक्षेप संकलन गर्न लागेको हो।
यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन्। सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँ र त्यसपछि ५ करोड रुपैयाँले भाग जाने गरी बोलकबोल गर्न सक्नेछन्। बोलकबोल ब्याजदरका आधारमा हुने राष्ट्र बैंकले जनाएको छ।
उक्त उपकरणको साँवा तथा ब्याज आगामी मंसिर २३ गते भुक्तानी गरिनेछ। बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निश्चित अवधिका लागि निक्षेप संकलनमार्फत रकम खिच्ने गर्छ।

Online Arthik









