कालिञ्चोक दर्शन लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद घाटा ३५.७३ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोज मसान्तसम्म ४५ लाख ९६ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद घाटा ३३ लाख ८६ हजार रुपैयाँ थियो ।

समीक्षा अवधिमा कम्पनीको आम्दानी पनि ३७.६७ प्रतिशतले घटेको छ । गत वर्ष पहिलो त्रैमासमा ७९ लाख ८५ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले यस वर्षको सोही अवधिमा ४९ लाख ७७ हजार रुपैयाँ मात्रै आम्दानी गरेको छ । त्यस्तै, कम्पनीको सञ्चालन आम्दानी ७२ लाख ८७ हजार रुपैयाँबाट घटेर ४२ लाख ३२ हजार रुपैयाँमा सीमित भएको छ । आम्दानीमा आएको गिरावटसँगै कम्पनीको सञ्चालन घाटा पनि बढेको छ । गत वर्ष पहिलो त्रैमासमा १८ लाख १६ हजार रुपैयाँ रहेको सञ्चालन घाटा यस वर्ष बढेर ६३ लाख ५४ हजार रुपैयाँ पुगेको छ । कम्पनीको चुक्ता पुँजी ६३ करोड रुपैयाँ रहेको छ भने रिजर्भ तथा सरप्लस ५ करोड ३५ लाख रुपैयाँभन्दा बढी रहेको छ ।

घाटा बढेसँगै कम्पनीको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी २ रुपैयाँ ९२ पैसा ऋणात्मक भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी २ रुपैयाँ २६ पैसा ऋणात्मक थियो ।

तपाईको प्रतिक्रिया