समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सात सहकारीका १२२ जना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ । फिर्ता रकममध्ये २३ जना बचतकर्ताले आफ्नो सम्पूर्ण बचत प्राप्त गरेका छन् भने ९९ जनाले आंशिक रकम पाएका छन् ।

समितिले नेपाल सहकारी वित्तीय सहकारी, आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी र शिवशिखर सहकारीका २३ जना बचतकर्ताको सम्पूर्ण बचत रकम भुक्तानी गरेको हो ।त्यस्तै, कान्तिपुर सहकारी, गौतमश्री बहुउद्देश्यीय सहकारी, कृषि विकास बहुउद्देश्यीय सहकारी र श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीका ९९ जना बचतकर्तालाई आंशिक रकम उपलब्ध गराइएको समितिले जनाएको छ । समितिका अनुसार सहकारीबाट ऋण असुली र सम्पत्ति व्यवस्थापन गरी प्राप्त भएको रकम बचतकर्तालाई भुक्तानी गरिएको हो । पहिलो चरणमा थोरै रकम बचत भएका व्यक्तिलाई प्राथमिकता दिएर रकम फिर्ता गरिएको छ ।बाँकी बचतकर्तालाई पनि बचत रकमको आकारअनुसार वर्गीकरण गरी आगामी चरणमा क्रमशः भुक्तानी गर्ने तयारी समितिको छ ।

समस्याग्रस्त सहकारीको ऋण असुली, सम्पत्ति व्यवस्थापन र बचत फिर्ताको कामलाई निरन्तरता दिइएको समितिले जनाएको छ । प्रचलित कानुनी व्यवस्थाअनुसार उपलब्ध स्रोतका आधारमा बचतकर्ताको रकम फिर्ता गरिने समितिको भनाइ छ ।

तपाईको प्रतिक्रिया