नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षक स्तरको प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार पद सिर्जना गरी कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा खटाउने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं मन्त्री सस्मित पोखरेलका अनुसार मुलुकको वर्तमान परिस्थितिमा शान्ति सुरक्षाको व्यवस्था थप सुदृढ बनाउन प्रधानमन्त्रीलाई आवश्यक सुरक्षा सल्लाह, सुझाव तथा परामर्श उपलब्ध गराउने उद्देश्यले उक्त पद सिर्जना गरिएको हो। त्यस्तै, कार्कीलाई सुरक्षा सल्लाहकारमा खटाएपछि रिक्त हुने प्रहरी महानिरीक्षक पदमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई बढुवा गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। प्रहरी नियमावली, २०७१ को नियम ४१ बमोजिम डा. केसीलाई २०८३ कात्तिक १८ गतेदेखि लागू हुने गरी प्रहरी महानिरीक्षकमा बढुवा गरिएको मन्त्री पोखरेलले जानकारी दिए।

यस निर्णयसँगै नेपाल प्रहरीको नेतृत्व परिवर्तन भएको छ। डा. केसीले नयाँ प्रहरी महानिरीक्षकका रूपमा प्रहरी संगठनको नेतृत्व सम्हाल्नेछन्।

तपाईको प्रतिक्रिया