जनकपुरधामलाई भारतको अयोध्यासँग रेलमार्गबाट जोड्ने योजनाअन्तर्गत रेल सेवा सञ्चालनको तयारी तीव्र पारिएको छ। यसैक्रममा रेल सेवा विस्तारको सम्भावना र प्राविधिक अवस्था परीक्षण गर्न १७ बोगीको भारतीय रेल चलाइएको छ। नेपाल र भारत दुवै पक्षको पहलमा अघि बढाइएको योजनाअन्तर्गत परीक्षण रेल सञ्चालन गरिएको नेपाल रेल्वेका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिएका छन्। उनका अनुसार जनकपुरधामबाट अयोध्यासम्म रेल सेवा सञ्चालन गर्ने उद्देश्यले परीक्षणको काम अघि बढाइएको हो। रेल सञ्चालनका लागि आवश्यक प्राविधिक परीक्षण तथा अन्य प्रक्रिया जारी रहेकाले सेवा सञ्चालनको मिति भने तय भइसकेको छैन। प्रस्तावित योजनाअनुसार नेपाली भूमिमा जयनगरदेखि जनकपुरधामसम्म नेपाली रेल सञ्चालन हुनेछ भने त्यसपछि भारतीय रेलमार्फत भारतका दुईदेखि तीनवटा स्टेसनबाट यात्रु चढाएर अयोध्यासम्म पुर्‍याइनेछ। जनकपुरधामलाई माता सीताको जन्मभूमि र अयोध्यालाई भगवान् रामको जन्मभूमिका रूपमा लिइने धार्मिक मान्यताका कारण दुई सहरबीच रेल सेवा सञ्चालनले धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। आवश्यक प्राविधिक परीक्षण र तयारी पूरा भएपछि मात्रै नियमित रेल सेवा सञ्चालनको मिति टुङ्गो लाग्नेछ।

तपाईको प्रतिक्रिया