सामाजिक सुरक्षा कोषमा हालसम्म १ खर्ब २९ अर्ब ६४ करोड रुपैयाँ योगदान संकलन भएको छ । गत असोज मसान्तसम्म कोषमा विभिन्न क्षेत्रका ३२ लाख ४३ हजार ७०१ जना योगदानकर्ता आबद्ध भएका छन् ।

कोषका अनुसार वैदेशिक रोजगारी क्षेत्रबाट सबैभन्दा बढी २४ लाख ५० हजार ९५८ जना आबद्ध भएका छन् । त्यस्तै, औपचारिक क्षेत्रबाट ७ लाख ९० हजार ८३ जना, अनौपचारिक क्षेत्रबाट १ हजार १६८ जना र स्वरोजगार क्षेत्रबाट १ हजार ४९२ जना जोडिएका छन् । प्रदेशगत रूपमा बागमतीमा सबैभन्दा बढी १५ हजार ५५१ रोजगारदाता संस्था कोषमा आबद्ध छन् । सातै प्रदेशका गरी औपचारिक क्षेत्रका २३ हजार ८०७ रोजगारदाता संस्था कोषमा जोडिएका छन् । तर अनौपचारिक तथा स्वरोजगार क्षेत्रको सहभागिता भने निकै न्यून रहेको छ ।

कोषले स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्ध अवस्था सुरक्षा योजनामार्फत योगदानकर्तालाई सुविधा प्रदान गर्दै आएको छ । कोषबाट हालसम्म विभिन्न शीर्षकमा २२ अर्ब ९० करोड रुपैयाँ दाबी भुक्तानी भइसकेको छ ।

तपाईको प्रतिक्रिया