नेशनल लाइफ इन्स्योरेन्सले आफ्नो पूँजीको थप १० प्रतिशत संस्थापक शेयरलाई सर्वसाधारणमा शेयरमा रुपान्तरण गर्ने भएको छ।

कम्पनीले १० प्रतिशत शेयरलाई साधारणमा परिवर्तन गरि संस्थापक शेयरको हिस्सा ५५ प्रतिशतमा घटाउने र हाल कायम ३५ प्रतिशत साधारण शेयर अनुपातलाई १० प्रतिशतले वृद्धि गरि ४५ प्रतिशत कायम गर्ने भएको हो। हाल कम्पनीमा चुक्ता पूँजीको ६५ प्रतिशत संस्थापक शेयर छ। शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव इन्स्योरेन्सको २०७६ कार्तिक २४ गते सम्पन्न ३१ औं वािर्षक साधारण सभाबाट निर्णय भएको थियो।

कम्पनीले बीमा समितिले जारी गरेको संस्थापक शेयर कारोबार सम्बन्धि निर्देशन २०६६ मा भएको व्यवस्था बमोजिम संस्थापक शेयर परिर्वतन गरिने जनाउँदै कोही शेयरधनीलाई आफ्नो स्वामित्वमा रहेको संस्थापक शेयर साधारण शेयरमा परिणत गर्न इच्छुक नभएमा ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाटमा सोही अनुसारको स्वघोषणा गरि निवेदन दिन आग्रह गरेको छ। निवेदनको फारम कम्पनीको वेवसाइटमा उपलब्ध गराइएको जनाइएको छ।

सो अवधिमा जानकारी उपलब्ध नगराउने संस्थापक शेयरधनीको संस्थापक शेयर साधारण सभाको निर्णय बमोजिम सर्वसाधारणमा परिणत हुने कम्पनीले जनाएको छ।

तपाईको प्रतिक्रिया