नेपालका लागि कियाको एकल अधिकृत विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले कियाको सब कम्प्याक्ट एसयुभी सोनेटको मूल्य सार्वजनिक गरेको छ । सोनेट कियाको भारतमा निर्मित सेल्टोस र कार्निभल लक्जरी एमपिभीपछिको तेस्रो गाडी हो । सब–४ मिटर एसयुभी स्पेसका साथ आएको सोनेट मारुतीको ब्रेज्जा, टाटाको नेक्सन, हुन्डाईको भेन्यु तथा महिन्द्राको एक्सयुभी३०० को कडा प्रतिस्पर्धीको रुपमा उभिएको कम्पनीको भनाइ छ ।

कियाले शुक्रबार नेपाली बजारमा बहुप्रतीक्षित सोनेट सार्वजनिक गरेको थियो । यसको बेस एचटिई भेरियन्टको सुरुआती मूल्य ३५ लाख ९० हजार रुपैयाँ तोकिएको छ भने उपलब्ध सुविधाका आधारमा जिटिएक्सप्लस भेरियन्टको मूल्य ६५ लाख ९० हजार रुपैयाँसम्म पर्ने कम्पनीले जनाएको छ ।

सोनेट दुईवटा ट्रिम कन्सेप्टमा टेक लाइन ट्रिम र जिटी लाइनमा उपलब्ध छ, जुन यसअघि सेल्टोसमा देखिएको थियो । सोनेट सातवटासम्म कलर अप्सनमा उपलब्ध हुनेछन् जसमा तीनवटा डुअल–टोन कलर थिममा हुनेछ ।

सोनेटमा एचटी लाइन (टेक लाइन) भेरियन्टमा एचटिई, एचटिके, एचटिकेप्लस, एचटिएक्स, एचटिएक्सप्लस समावेश छन् । उपलब्ध रंगको संख्या अर्डर बढेसँगै थप हुने कम्पनीले जनाएको छ । एचटिई, एचटिके भेरियन्ट क्लियर ह्वाइट, स्टिल सिल्भर, ग्रेभिटी ग्रे र इन्टेन्स रेडमा उपलब्ध छन् भने एचटिकेप्लस र एचटिएक्स भेरियन्ट अरोरा ब्ल्याक, बेस गोल्ड र इन्टेलिजेन्स ब्लु अप्सनमा उपलब्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीका अनुसार यी माथिल्लो श्रेणीका भेरियन्ट ग्लेसियर ह्वाइट पर्ल/अरोरा ब्ल्याक पर्ल, बेस गोल्ड/अरोरा ब्ल्याक पर्ल र इन्टेन्स रेड/अरोरा ब्ल्याक पर्ल रंगमा छन् ।

सेल्टोसमा देखिए जस्तै सोनेटको टप–स्पेस जिटिएक्सप्लस (जिटी लाइन) ट्रिममा थुप्रै विशेष खाले कस्मेटिक्स विशेषता छन् जसले यो गाडीलाई दुई मोडलमध्ये बढी आक्रामक देखाउँछ । यसको ग्रिल, ढोका, बम्पर र ब्रेक कालिपर्समा विभिन्न रेड एक्सेन्ट्सहरु छन् । भित्री भागको हकमा विशेष किसिमका जिटी लाइनका सिटहरु हुनेछन् जसमा स्पोर्टी अपिल दिन कालोमा कन्ट्रास्ट स्टिचिङ दिइएको छ ।

सोनेटले यो सेग्मेन्टकै सबैभन्दा बढी फिचर भएको क्याबिन दिनेछ । यसमा १०.२५ इन्चको एचडी इन्फोटेनमेन्ट स्क्रिन, युभिओ कनेक्टिभिटी अप्सन, सब–उफरसहितको ७ वटा स्पिकर, एलइडी साउन्ड मुड ल्याम्प, कुलिङ फंसन्ससहितको वायरलेस स्मार्टफोन चार्जर, भेन्टिलेटेड फ्रन्ट सिट, एयर प्युरिफायर लगायत विशेषता छन् ।

प्रमुख सेफ्टी फिचर्समा ६ वटा एयरब्याग, इबिडी सहितको एबिएस, भेहिकल स्टाबिलिटी म्यानेजमेन्ट, इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल, हिल स्टार्ट असिस्ट कन्ट्रोल र ब्रेक असिस्ट लगायत फिचरहरु छन् ।

तपाईको प्रतिक्रिया