प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहणपछि पहिलो सम्बोधनमा जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगलागी, लुटपाट र सार्वजनिक तथा निजी सम्पत्तिमा क्षतिको विषयलाई गम्भीर रूपमा उठाएकी छन्। उनका अनुसार, यी घटनाले मात्र देशलाई आर्थिक नोक्सान पुर्याएको छैन, सामाजिक चेतनास्तर र संस्कारमाथि गहिरो प्रश्न उठाएको छ।
भदौ २३–२४ गते राजधानीका संसद, सिंहदरबार, अदालत, निजी घर तथा व्यवसायिक प्रतिष्ठानसम्म प्रभावित भएका घटनाले नेपाली समाजलाई आफ्नो मूल्य प्रणाली र सामाजिक संरचनाबारे गहिरो आत्मपरीक्षण गर्न बाध्य बनाएको छ। जेनजी प्रदर्शनीको नाममा सुरु भएको आन्दोलन युवा पुस्ताबाट हिंसात्मक उन्मादमा परिणत हुनु मुख्यतया शिक्षा प्रणाली, पारिवारिक संस्कार र सामाजिक मूल्यहरूको कमजोर अवस्थासँग सम्बन्धित छ।
आजको पुस्ता आधुनिक प्रविधि, भौतिक चकाचौंध र सहज सुखतर्फ आकर्षित छ, तर सहनशीलता, जिम्मेवारी र समाजप्रतिको दायित्व सिक्न भने असफल भइरहेको छ। शिक्षाले केवल रोजगारका लागि दक्षता मात्र दिनु हुँदैन, जीवनका आधारभूत मूल्य र चरित्र निर्माणमा योगदान गर्नुपर्छ। तर हाम्रो वर्तमान शिक्षण पद्धति अंक केन्द्रित, प्रतिस्पर्धात्मक र पुस्तकमुखी भएकाले विद्यार्थीहरू आत्मकेन्द्रित र व्यक्तिगत लाभमुखी बन्न पुगेका छन्। यही कारणले, हिंसा र अराजकता जस्ता सामाजिक घटनाले जन्म पाउँछन्।
पारिवारिक संरचना र संस्कार पनि कमजोर हुँदै गएको प्रधान कारण हो। आधुनिक जीवनशैलीका कारण घरभित्रको संवाद, अनुशासन र आपसी सम्बन्ध घटेको छ। अभिभावकहरू व्यस्त रहँदा बालबालिकाले मोबाइल, टेलिभिजन र सामाजिक सञ्जालबाट मात्र शिक्षा पाउँछन्। यस्ता माध्यमहरूले मनोरञ्जन र जानकारी दिन सक्छन्, तर सही-गलत छुट्याउने क्षमता, सहिष्णुता र जिम्मेवारीको पाठ दिन सक्दैनन्।
जब शिक्षा, पारिवारिक संस्कार र सामाजिक मूल्यहरू तीनै पक्ष कमजोर हुन्छन्, तब युवा पुस्ता दिशाहीन हुन्छ। दिशाहीन युवा आन्दोलनलाई विनाशको माध्यमको रूपमा प्रयोग गर्न सक्छन्। संसद, अदालत वा सिंहदरबारमा देखिएको जस्ता घटनामा राजनीतिक नेतृत्व मात्र दोषी छैन; हरेक परिवार र नागरिक पनि आफ्नो स्तरमा जिम्मेवार छन्।
दीर्घकालीन सुधारको मार्ग घरघरबाट सुरु हुनुपर्छ। अभिभावकहरूले आफ्ना सन्तानलाई अनुशासन, आदर, श्रमप्रतिको सम्मान र समाजप्रतिको दायित्व सिकाउनुपर्छ। विद्यालयले नैतिक शिक्षा, चरित्र निर्माण र सामुदायिक सेवालाई पाठ्यक्रममा समावेश गर्नुपर्छ। सरकार मात्र होइन, प्रत्येक नागरिकले मूल्य–आधारित समाज निर्माणमा योगदान दिनुपर्छ।
साँचो परिवर्तन हिंसा वा ध्वंसबाट होइन, मत र अभिमतबाट सम्भव हुन्छ। परिवर्तन उत्पादनमूलक, दिगो र समाजहितकारी हुनुपर्छ। युवालाई दोष दिने मात्र होइन, सही मार्ग देखाउने र आवश्यक संरचना र संस्कार प्रदान गर्ने जिम्मेवारी हामी सबैको हो। दीर्घकालीन दृष्टिले हरेक नेपाली परिवार, विद्यालय र समाजले मिलेर मूल्य–आधारित शिक्षाको संस्कृति स्थापना गर्नु नै भविष्यमा हिंसामुक्त, जिम्मेवार र समुन्नत समाजतर्फ डोऱ्याउने उपाय हो।

Online Arthik










