जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माण हुने ३८.०७ मेगावाट क्षमताको तिला जलविद्युत् आयोजना निर्माण गर्न करिब रु ७ अर्ब ५६ करोड ७४ लाख लागत लाग्ने भएको छ। आयोजनाको पहिलो चरणअन्तर्गत गरिएको प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदन सम्बन्धी सार्वजनिक सुनुवाइ सम्पन्न भएको परामर्शदाता तथा वातावरणविद् सुरेन्द्रदेव भट्टले जानकारी दिएका छन्।

चार वर्षअघि नै सम्भाव्यता अध्ययन पूरा भइसकेको यस आयोजनामा तिला नदीको ५२.५१ घनमिटर/सेकेन्ड डिजाइन डिस्चार्ज प्रयोग गरिनेछ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत विद्युत् विकास विभागले २०७८ सालमा आयोजना नापजाँच स्वीकृत गरेको हो।

तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाका अनुसार, आयोजना सञ्चालनपछि रोजगारी, रोयल्टी, स्थानीय शेयर, सामुदायिक कार्यक्रम तथा व्यापार–व्यवसायमार्फत स्थानीयदेखि राष्ट्रियस्तरसम्म प्रत्यक्ष लाभ पुग्नेछ।

उत्पादन भएको विद्युत् १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनमार्फत जुम्ला बजारस्थित सबस्टेशनमा जोडिनेछ। विद्युत् गृहबाट निष्कासित पानी २५ मिटर टेलरेस टनेलमार्फत पुनः तिला नदीमै मिसाइनेछ। आयोजनाका सम्पूर्ण संरचना नदीको बायाँ किनारमा रहनेछन्।

आयोजना निर्माणका लागि ७.५८५ हेक्टर जग्गा आवश्यक पर्ने निर्धारण गरिएको छ, जसमा ४.७७२ हेक्टर वन क्षेत्र र २.८१३ हेक्टर निजी जग्गा समावेश छन्। विभागका उपसचिव गोपिप्रसाद शाहका अनुसार, आयोजनाबाट उत्पादित विद्युत् ३०.२० किलोमिटर लामो प्रसारण लाइनमार्फत प्रवाहित हुनेछ।

स्थानीयलाई रोजगारीमा विशेष प्राथमिकता दिइने आयोजनाले जनाएको छ। निर्माण अवधिमा स्थानीयले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा व्यवसायिक अवसर पाउने भएकाले आयआर्जन बढ्ने अपेक्षा गरिएको तिला गाउँपालिका–७ का वडाध्यक्ष खुम्बिलाल रोकायाले बताए।

आयोजनाले ३४ घरधुरी प्रत्यक्ष प्रभावित गर्ने देखिएको छ भने तिनको विवरण सम्बन्धित वडा कार्यालयमा सार्वजनिक गरिसकिएको छ। अध्ययन अवधि पूरा भएपछि आयोजनाको निर्माण कार्य अघि बढाइने जलविद्युत् आयोजनाले जनाएको छ।

तपाईको प्रतिक्रिया