नासा सेक्युरिटिज कम्पनी लिमिटेड (ब्रोकर नं. ५८) ले नेपालमा पहिलोपटक मार्जिन ट्रेडिङ सेवा सुरु गरेको जनाएको छ। नियामक निकायबाट मार्जिन कारोबारसम्बन्धी कार्यविधि लागू भएसँगै कम्पनीले यो सेवा सञ्चालन गर्ने पहिलो ब्रोकरको रूपमा आफ्नो पहिचान बनाएको हो। सेवा सुरु भएको पहिलो दिनमै करिब १४ करोड रुपैयाँ बराबरको मार्जिन सुविधा आफ्ना ग्राहकहरूलाई उपलब्ध गराउँदै कम्पनीले पूँजी बजारमा नवीन पहल र सक्रिय भूमिका देखाएको छ।
यस सेवाअन्तर्गत लगानीकर्ताले ३० प्रतिशत प्रारम्भिक मार्जिन राखेर कारोबार गर्न सक्नेछन् भने बाँकी ७० प्रतिशत रकम कम्पनीले उपलब्ध गराउनेछ। सुविधा रकम १० लाखदेखि २ करोड रुपैयाँसम्म पाइनेछ र अवधि १ देखि ३ महिनासम्मको हुनेछ। ब्याज तथा सेवा शुल्क करिब १ प्रतिशत प्रतिमहिना रहेको छ, जसमा लामो अवधिमा केही छुटको व्यवस्था गरिएको छ। जोखिम व्यवस्थापनका लागि न्यूनतम २० प्रतिशत सम्भार मार्जिन कायम राख्नुपर्नेछ र यदि यो सीमा भन्दा कम भएमा ‘मार्जिन कल’ गरिनेछ। साथै, यो सेवा नियामकको मार्जिन ट्रेडिङ कार्यविधि २०८२ अनुसार सञ्चालन हुनेछ र कारोबार केवल नेप्सेबाट स्वीकृत धितोपत्रहरूमा मात्र गर्न पाइनेछ।
यो सुविधा लिन इच्छुक लगानीकर्ताले मार्जिन डिम्याट खाता तथा मार्जिन ट्रेडिङ खाता खोल्नुपर्नेछ र आवश्यक प्रक्रिया पूरा गरी सम्झौतामा हस्ताक्षर गर्नुपर्नेछ। कम्पनीले यस सेवामार्फत लगानीकर्ताको सहभागिता बढाउने, बजारमा तरलता वृद्धि गर्ने तथा नयाँ लगानी अवसरहरू विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ।

Online Arthik








