आन्तरिक राजस्व कार्यालय हेटौंडा ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा करिब ६ अर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ । कार्यालय प्रमुख युक्त प्रसाद सुवेदी का अनुसार बक्यौता असुली र बजार अनुगमनलाई तीव्रता दिइएकाले गत आर्थिक वर्ष २०८१/८२ को तुलनामा ३४ करोड २१ लाख २४ हजार रुपैयाँ बढी अर्थात् ५ अर्ब ९२ करोड ६४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको हो ।

वैशाखसम्म सङ्कलित राजस्वमध्ये अन्तःशुल्कतर्फ ३ अर्ब ४५ करोड ६२ लाख ६५ हजार रुपैयाँ, आयकरतर्फ १ अर्ब २ करोड ४ लाख ९६ हजार रुपैयाँ, मूल्य अभिवृद्धि करतर्फ ८२ करोड ७१ लाख ५२ हजार रुपैयाँ, स्वास्थ्य जोखिम करतर्फ ५१ करोड ९२ लाख ५९ हजार रुपैयाँ, ब्याज करतर्फ ६ करोड ८३ लाख ७७ हजार रुपैयाँ तथा बहालकरतर्फ १ करोड ५९ लाख ८८ हजार रुपैयाँ रहेको कार्यालयले जनाएको छ ।

प्रमुख सुवेदीका अनुसार चालु आवमा ८ अर्ब ४४ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य रहेको छ । करदाताको घरमै पुग्ने, टेलिफोन तथा एसएमएसमार्फत ताकेता गर्ने, साथै कर छुटसम्बन्धी जानकारी प्रचारप्रसार गर्ने अभियान सञ्चालन गरिएकाले १० करोड रुपैयाँभन्दा बढी पुरानो बक्यौता असुल गर्न सफल भएको उनले बताए ।

तपाईको प्रतिक्रिया