नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले अन्तर्राष्ट्रिय अटोमोवाइल फेडेरेसन तथा एआईपी फाउन्डेसन को सहयोगमा ‘हेड्स अप’ अभियान अन्तर्गत हेल्मेट कानून तथा मापदण्ड सम्बन्धी पोलिसि डाइलग कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा विभिन्न सरकारी निकाय, स्वास्थ्य क्षेत्र, सडक सुरक्षा विज्ञ, प्राविधिक क्षेत्र, युवा, बालबालिका तथा सरोकारवाला संस्थाका करिब ६० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रमको सुरुवात नासा नेपालका परियोजना संयोजक सुवास भट्टराई ले नासा नेपालको सडक सुरक्षा सम्बन्धी गतिविधि तथा हाल सञ्चालन भइरहेको “हेड्स अप” अभियानबारे जानकारी गराउँदै गर्नुभएको थियो । कार्यक्रममा अर्थोपेडिक सर्जन डा. सतीश प्रसाद बर्नवाल ले सडक दुर्घटना र हेल्मेटको प्रयोग विषयमा प्रस्तुति दिँदै दुईपाङ्ग्रे सवारी दुर्घटनाबाट हुने गम्भीर चोटपटक तथा जोखिम न्यूनीकरणमा गुणस्तरीय हेल्मेटको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । त्यसैगरी नेपाल प्रहरी को राजमार्ग एण्ड ट्राफिक व्यवस्थापन महाशाखाका एसएसपी भुवनेश्वर तिवारी ले सडक सुरक्षा, विद्यमान कानुनी व्यवस्था तथा सडक सुरक्षामा सरोकारवालाको भूमिकाबारे प्रस्तुति दिनुभयो । सडक सुरक्षा विज्ञ भगवती सेडाइ ले नेपालमा विद्यमान हेल्मेट कानून, राष्ट्रिय हेल्मेट मापदण्ड कार्यान्वयनको आवश्यकता तथा चालक र पछाडि बस्ने दुवैले अनिवार्य रूपमा हेल्मेट प्रयोग गर्नुपर्ने व्यवस्थाको कडाइका साथ कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा काठमाडौं विश्वविद्यालय का प्रा.डा. ड्यानियल तुलाधर, राष्ट्रिय सडक सुरक्षा परिषद् का सरोज कुमार प्रधान लगायतले हेल्मेटको गुणस्तर, सडक सुरक्षा नीति तथा प्रभावकारी कार्यान्वयनका विषयमा धारणा राख्नुभएको थियो । नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराई ले सरकारले सडक सुरक्षा तथा सुरक्षित डबल हेल्मेटको विषयमा पर्याप्त प्राथमिकता नदिएको उल्लेख गर्दै प्रभावकारी नीति र कार्यान्वयन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रमको समापनमा १५ जना बालबालिकालाई नासा नेपालका अध्यक्ष दशरथ रिसाल, सल्लाहकार ठाकुरप्रसाद न्यौपाने, डा. शिवजी यादव, हिसान नेपाल का महासचिव रामहरि सिलवाल लगायतले चाइल्ड हेल्मेट हस्तान्तरण गर्नुभएको थियो । नासा नेपालले यस अभियान अन्तर्गत राष्ट्रिय हेल्मेट मापदण्डको कार्यान्वयन, डबल हेल्मेट प्रयोग तथा चाइल्ड हेल्मेट प्रवर्द्धन सम्बन्धी जनचेतना र एड्भोकेसी अभियान सञ्चालन गरिरहेको जनाएको छ ।

Online Arthik









