पोखरा महानगरपालिका ले शहरी व्यवस्थापन तथा सौन्दर्यीकरण अभियानलाई तीव्र बनाउँदै पोखरा महानगरपालिका–१२ अन्तर्गत अमरसिंहचौर क्षेत्रमा वर्षौंदेखि सञ्चालन हुँदै आएका अस्थायी टहरा हटाएको छ । मंगलबार बिहान महानगरपालिकाले डोजर प्रयोग गरेर बाँकी संरचना हटाएको हो ।
यसअघि महानगरपालिकाले सूचना जारी गर्दै टहरा खाली गर्न निर्देशन दिएको थियो । सूचनापछि धेरै व्यवसायीहरूले आफ्ना संरचना आफैं हटाएका थिए भने अटेर गरिएका तथा बाँकी रहेका टहरा नगर प्रहरीको निगरानीमा हटाइएको जनाइएको छ । अमरसिंह माध्यमिक विद्यालय को स्वामित्वमा रहेको खेलमैदानको दक्षिण किनारमा, पृथ्वी राजमार्गसँग जोडिएको करिब ६ रोपनी क्षेत्रफलमा ५२ वटा अस्थायी टहरा निर्माण गरिएका थिए । ती टहरामा चिया पसल, खाजा घर, फलफूल तथा अन्य साना व्यवसाय सञ्चालन हुँदै आएका थिए ।लामो समयदेखि उक्त क्षेत्र व्यापारिक गतिविधिको केन्द्र बने पनि संरचनाहरू अव्यवस्थित रूपमा फैलिँदै जाँदा क्षेत्रको स्वरूप बिग्रिएको भन्दै आलोचना हुँदै आएको थियो । पोखराको मुख्य प्रवेशद्वारका रूपमा परिचित अमरसिंहचौर क्षेत्र पर्यटक तथा बाहिरी जिल्लाबाट आउने यात्रुहरूको पहिलो नजर पर्ने स्थानमध्ये एक मानिन्छ ।
महानगरपालिकाका अनुसार सडक किनारमा अव्यवस्थित रूपमा बनेका टहराले शहरको सौन्दर्यमा नकारात्मक प्रभाव पार्नुका साथै ट्राफिक व्यवस्थापन, पैदलयात्रु आवतजावत तथा वातावरणीय व्यवस्थापनमा समेत समस्या सिर्जना गरिरहेका थिए । साथै विद्यालयको सार्वजनिक प्रयोजनको जग्गा निजी व्यवसायमा प्रयोग भइरहेको विषयमा समय–समयमा प्रश्न उठ्दै आएको थियो ।महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण, सडक क्षेत्र व्यवस्थापन तथा दीर्घकालीन शहरी योजना कार्यान्वयन गर्ने उद्देश्यले टहरा हटाउने अभियान अघि बढाइएको जनाएको छ । टहरा हटाइएपछि अहिले अमरसिंहचौर क्षेत्र खुला, फराकिलो र व्यवस्थित देखिन थालेको छ ।
स्थानीयवासीहरूले शहरको मुख्य प्रवेश क्षेत्र अब थप सफा र आकर्षक बन्ने अपेक्षा व्यक्त गरेका छन् । कतिपयले सार्वजनिक स्थान संरक्षणका लागि महानगरपालिकाको कदम सकारात्मक भएको बताएका छन् भने विस्थापित व्यवसायीहरूले वैकल्पिक व्यवस्थापनको माग गरेका छन् ।
महानगरपालिकाले आगामी दिनमा पनि सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अवैध तथा अस्थायी संरचनामाथि अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।

Online Arthik










