एनसेलले फोरजी नेटवर्क विस्तारसँगै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा सञ्चालनमा रहेका २०० भन्दा बढी मोबाइल टावरबाट भदौ १ गतेदेखि थ्रीजी सेवा बन्द गर्ने भएको छ। कम्पनीका अनुसार गण्डकीका गोरखा र लमजुङ, लुम्बिनीका बर्दिया र पाल्पा तथा सुदूरपश्चिमको कैलालीका विभिन्न स्थानीय तहमा थ्रीजी सेवा बन्द हुनेछ। थ्रीजीका लागि प्रयोग हुँदै आएको फ्रिक्वेन्सी फोरजी सेवाका लागि उपयोग गरिने कम्पनीले जनाएको छ। ‘भ्वाइस ओभर लङ्ग टर्म एभोल्युसन’ (भोल्टे) प्रविधिसहित फोरजी नेटवर्कलाई थप बलियो बनाउने उद्देश्यले कम्पनीले थ्रीजी सेवा चरणबद्ध रूपमा बन्द गर्दै आएको हो। एनसेलका अनुसार फोरजी नेटवर्क हाल देशको करिब ९५ प्रतिशत जनसंख्यासम्म विस्तार भइसकेको छ। भदौ १ गतेदेखि गोरखाका गोरखा, आरुघाट, शहीद लखन, भीमसेन थापा र धार्चे तथा लमजुङका मस्र्याङ्दी, दूधपोखरी, दोर्दी, राइनास र बेँसीशहरलगायतका स्थानमा थ्रीजी सेवा बन्द हुनेछ। त्यस्तै, बर्दियाका राजापुर, ठाकुरबाबा, मधुवन, गुलरिया र गेरुवा, पाल्पाका तानसेन, रामपुर, तिनाउ, रम्भा र पूर्वखोला तथा कैलालीका टीकापुर, लम्कीचुहा, भजनी, जानकी र जोशीपुरलगायतका स्थानीय तहमा पनि सेवा बन्द गरिनेछ। थ्रीजी सेवा बन्द भएपछि ग्राहकलाई फोरजीमा अपग्रेड हुन कम्पनीले आग्रह गरेको छ। फोरजी प्रयोगका लागि फोरजी सपोर्ट गर्ने मोबाइल, फोरजी सिमकार्ड वा ई–सिम आवश्यक पर्नेछ भने भोल्टे सेवा प्रयोग गर्न मोबाइलको सेटिङमा भोल्टे विकल्प अन गर्नुपर्नेछ। ग्राहकले १२३११# डायल गरेर पनि भोल्टे सेवा सक्रिय गर्न सक्नेछन्। कम्पनीका अनुसार भोल्टे प्रविधिबाट उच्च गुणस्तरको भ्वाइस कल तथा छिटो फोन सम्पर्क स्थापित हुने र एउटै शुल्कमा भ्वाइस कलसँगै फोरजी डेटा प्रयोग गर्न सकिनेछ। एनसेलकी नेटवर्क हेड लेना केशरी कंसाकारका अनुसार नयाँ प्रविधिमा स्तरोन्नति तथा सेवाको गुणस्तर सुधार गर्ने योजनाअनुसार थ्रीजी सेवा चरणबद्ध रूपमा बन्द गरिएको हो। कम्पनीले २०२७ को पहिलो त्रैमासिकसम्म थ्रीजी नेटवर्क पूर्ण रूपमा बन्द गर्ने लक्ष्य राखेको जनाएको छ।

Online Arthik









