ललितपुर महानगरपालिकाले चिकित्सकसहितको निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। आकस्मिक अवस्थाका बिरामीलाई घटनास्थलबाट अस्पतालसम्म लैजाँदा आवश्यक प्रारम्भिक उपचारसमेत उपलब्ध गराउने उद्देश्यले महानगरले सेवा सुरु गरेको हो। सोमबार आयोजित कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सेवाको शुभारम्भ गरिन्। उनले चिकित्सकसहितको एम्बुलेन्स सेवा सञ्चालन गरेर महानगरले उदाहरणीय कामको सुरुवात गरेको बताउँदै आकस्मिक उपचारमा ‘गोल्डेन टाइम’ महत्वपूर्ण हुने भएकाले घटनास्थलबाट अस्पतालसम्म पुग्ने समय घटाउन सके गम्भीर क्षति रोक्न सकिने बताइन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. नविशमानसिंह प्रधानले चिकित्सकसहितको एम्बुलेन्स सेवा बिरामीको प्रि–हस्पिटल केयर सुधार गर्ने महत्वपूर्ण पहल भएको बताए। ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनका अनुसार फिलिपिन्सको माकाती सहरमा यस्तो सेवा देखेपछि ललितपुरमा पनि सञ्चालन गर्ने अवधारणा अघि बढाइएको थियो। महानगरपालिकाको नवौँ नगरसभाबाट प्रस्ताव पारित गरी आवश्यक बजेट व्यवस्थापनपछि सेवा सञ्चालनमा ल्याइएको उनले बताए। चिकित्सकको उपस्थितिमा घटनास्थलमै प्रारम्भिक उपचार गरी बिरामीलाई उपयुक्त अस्पतालमा पुर्याउने व्यवस्था गरिएको छ भने फोन आएको १५ मिनेटभित्र एम्बुलेन्स घटनास्थल पुग्ने लक्ष्य राखिएको छ। बिरामीको इच्छाअनुसार उनीहरूले रोजेको अस्पतालसम्म पुर्याउने व्यवस्था गरिएको महानगरपालिकाले जनाएको छ। एम्बुलेन्स सञ्चालनका लागि ललितपुर महानगरपालिका र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य भएको छ। सम्झौताअनुसार एम्बुलेन्सका लागि चिकित्सक उपलब्ध गराउने तथा चिकित्सकको सेवा–सुविधासम्बन्धी खर्च महानगरपालिकाले व्यहोर्नेछ।

Online Arthik









