करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज घोषणा हुँदैछ। आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायमार्फत विजेताको घोषणा गर्ने भएको हो।

साउन १६ देखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा संलग्न उपभोक्ता पुरस्कारमा सहभागी भएका छन्। विभागका अनुसार योजनाको सुरुवाती महिनामै पुरस्कारमा सहभागी हुने उपभोक्ताको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। उक्त अवधिमा मात्रै ३ लाख ५७ हजार १४९ वटा नगद कारोबारका बिल उपहारका लागि दर्ता (अपलोड) भएका छन्। साउनको पहिलो १५ दिनमा भने ७ हजार ७७ वटा बिल मात्रै अपलोड भएका थिए।त्यस्तै, क्यूआर कारोबारमार्फत उपहार योजनामा स्वतः सहभागी हुने कारोबार सङ्ख्या २ करोड ५६ लाख ८ हजार ९४ बाट बढेर ३ करोड २० लाख ८६ हजार ३८० पुगेको छ। विभागका अनुसार पछिल्लो १७ दिनमा उपहार योजनामा कुल ३ करोड २४ लाख ४३ हजार २२९ कारोबार सहभागी भएका छन्।यिनै कारोबारमध्येबाट आज १७ जना विजेता छनोट गरिनेछ। साउन १६ देखि ३१ गतेसम्मका १७ दिनका लागि दैनिक एक जनाका दरले विजेताले प्रतिव्यक्ति १ लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार पाउनेछन्। कर कटौतीपछि विजेताले खुद १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

यस्तै, सहभागीमध्येबाट एक जनाले बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ जित्नेछन्। बम्पर पुरस्कारमा २५ प्रतिशत कर लाग्ने विभागले जनाएको छ। आजकै कार्यक्रममा साउन महिनाको पहिलो पाक्षिकमा पुरस्कार जितेका विजेतालाई नगद पुरस्कारसमेत प्रदान गरिनेछ।

तपाईको प्रतिक्रिया