आन्तरिक राजस्व विभागले कर प्रशासनलाई प्रविधिमैत्री बनाउँदै करदाताले कार्यालय धाउनुपर्ने अवस्था कम गर्ने गरी नयाँ ‘करदाता पोर्टल’ परीक्षणमा ल्याएको छ। भदौ ९ गतेदेखि परीक्षण सुरु गरिएको नयाँ पोर्टलमार्फत करसम्बन्धी विभिन्न सेवा अनलाइनबाटै उपलब्ध गराउने व्यवस्था गरिएको छ। नयाँ प्रणाली पूर्ण रूपमा परीक्षण नभएसम्म पुरानो करदाता पोर्टल पनि सञ्चालनमा रहने विभागले जनाएको छ।
नयाँ पोर्टलमा करदाताको कामलाई सहज बनाउने गरी विभिन्न सुविधा थप गरिएको छ। अन्तःशुल्कजन्य प्रतिष्ठानले बुझाउने मासिक विवरण अब कार्यालयबाट मात्र रुजु गराउनुपर्ने छैन। करदाताले आफैँ विवरण रुजु गर्न सक्नेछन्। आय विवरण (डे–०४) अन्तर्गत अनुसूची १० मा विवरण आफैँ भर्नुपर्ने व्यवस्थासमेत हटाएर आवश्यक विवरण स्वतः आउने प्रणाली विकास गरिएको छ।
विदेशी लगानीकर्ताका लागि पनि नयाँ पोर्टलबाट स्थायी लेखा नम्बर दर्ताको आवेदन दिन सकिने व्यवस्था गरिएको छ। यसका साथै प्यान कार्ड, अन्तःशुल्क इजाजतपत्र र करचुक्ता प्रमाणपत्र कार्यालय नगई अनलाइनबाट डाउनलोड गर्न सकिने सुविधा थपिएको छ। भ्याट विवरणमा भएको त्रुटि सच्याउने सेवासमेत पोर्टलमा राखिएको छ।
विभागले करदातालाई थप राहत दिने गरी भ्याट विवरणमा भएको त्रुटि सात दिनभित्र आफैँ सच्याउन सक्ने व्यवस्था गरेको छ। यसअघि विवरणमा सामान्य अंकगत गल्ती भए पनि संशोधनका लागि कर कार्यालय पुग्नुपर्ने अवस्था थियो। नयाँ व्यवस्थाले करदाताको समय र खर्च दुवै बचत हुने विभागको विश्वास छ।
स्रोतमा कर कट्टी अर्थात् ईटीडीएस प्रणालीलाई समेत कडाइका साथ कार्यान्वयनमा ल्याइएको छ। अब कर कट्टी भएको रकम तोकिएको समयमै प्रणालीमा देखिनुपर्नेछ। विभागका अनुसार विगतमा कतिपय निकायले कर कट्टी गरे पनि रकम लामो समयसम्म होल्ड गर्ने र आर्थिक वर्षको अन्त्यमा मात्र दाखिला गर्ने प्रवृत्ति देखिएको थियो। नयाँ प्रणालीले यस्तो अभ्यास नियन्त्रण गर्ने अपेक्षा गरिएको छ।
महानिर्देशक डा. भीष्मकुमार भुसालले पुरानो प्रणालीमा विवरण प्रविष्ट भइसकेपछि संशोधन गर्न कठिन हुने भएकाले करदाताले अनावश्यक झन्झट बेहोर्नुपरेको बताए। नयाँ व्यवस्थाले करदातालाई घरमै बसेर विवरण जाँच गर्ने र गल्ती भए सच्याउने अवसर दिएको उनको भनाइ छ।
विभागले कर दायित्व घटाउन विगतको मितिमा विवरण प्रविष्ट गर्ने अर्थात् ‘ब्याक डेट’मा इन्ट्री गर्ने सम्भावित हेरफेरलाई समेत नियन्त्रण गर्न प्रणालीलाई समयबद्ध बनाएको जनाएको छ। यसबाट राजस्व समयमै सरकारी खातामा दाखिला हुने र कर कट्टीको रकम खोज्न करदाताले कागजात बोकेर कार्यालय धाउनुपर्ने अवस्था घट्ने विभागको अपेक्षा छ।
नयाँ पोर्टल हाल परीक्षणकै क्रममा रहेकाले सुरुवाती चरणमा सामान्य प्राविधिक समस्या देखिन सक्ने विभागले जनाएको छ। परीक्षणबाट प्राप्त अनुभवका आधारमा प्रणालीलाई थप सरल बनाउँदै आवश्यक नयाँ सुविधा थपिने विभागको भनाइ छ।

Online Arthik










