सरकारले मोहम्मद जयन्तीको अवसरमा भदौ १० गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले सूचना जारी गर्दै उक्त बिदा नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र लागू हुने जनाएको हो।
गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनाअनुसार नेपाल राजपत्रमा प्रकाशित व्यवस्थाबमोजिम मुस्लिम आयोगको सिफारिसमा बिदा दिने निर्णय गरिएको हो। आयोगले यस वर्षको मोहम्मद जयन्ती भदौ १० गते बुधबार परेको जानकारी गराएपछि मन्त्रालयले सोहीअनुसार बिदाको निर्णय गरेको जनाएको छ।
मन्त्रालयका अनुसार उक्त दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा लागू हुनेछ। मोहम्मद जयन्तीको अवसरमा गृह मन्त्रालयले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम धर्मावलम्बीमा हार्दिक शुभकामनासमेत व्यक्त गरेको छ।

Online Arthik










