बेनी हाइड्रोपावर लिमिटेडले भदौ २२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ। आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी तथा सामूहिक लगानी कोषका लागि सेयर बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले सर्वसाधारणका लागि ८ लाख ६३ हजार २०० कित्ता सेयर बिक्रीमा ल्याउनेछ। आईपीओमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्काशन छिटोमा भदौ २५ गते बन्द हुनेछ भने सो अवधिमा पर्याप्त आवेदन नपरेमा असोज ५ गतेसम्म आवेदन दिन सकिनेछ।

बेनी हाइड्रोपावरले सोलुखुम्बुमा १९.८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला जलविद्युत आयोजना निर्माण गरेको छ। आयोजनाको प्रतिमेगावाट लागत करिब १९ करोड ४७ लाख रुपैयाँ रहेको छ। कम्पनीको आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।

आयोजनाको लगानी फिर्ता हुने साधारण अवधि ५.७८ वर्ष रहेको कम्पनीले जनाएको छ। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटलले पाएको छ। लगानीकर्ताले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत तथा ‘मेरो सेयर’ प्रणाली प्रयोग गरी अनलाइन आवेदन दिन सक्नेछन्।

तपाईको प्रतिक्रिया