नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नारी दिवसको अवसर पारेर ‘नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा योजना’ सार्वजनिक गरेको छ। ‘एकै योजना, बहु–लाभ ! सबै नारीका लागि सजिलो पहुँच !’ नारासहित ल्याइएको उक्त योजना महिलाको जीवन, स्वास्थ्य, बचत तथा आर्थिक सुरक्षामा केन्द्रित रहेको कम्पनीले जनाएको छ।
यस योजनाअन्तर्गत बीमालेखको वार्षिकोत्सवमा बीमाङ्कका आधारमा नगद सुविधा प्रदान गरिनेछ भने मृत्यु लाभ प्रत्येक पाँच वर्षमा २५ प्रतिशतले वृद्धि हुने व्यवस्था गरिएको छ। साथै, नेपाली जीवन बीमा क्षेत्रमा पहिलो पटक गर्भावस्था स्याहार तथा गर्भावस्था जटिलता सम्बन्धी पूरक करार सुविधा समेत समावेश गरिएको छ।गर्भावस्थाका क्रममा सूचीकृत ११ प्रकारका गम्भीर जटिलतामध्ये कुनै एक पुष्टि भएमा बीमित महिलालाई एकमुष्ट एक लाख रुपैयाँ प्रदान गरिनेछ। त्यस्तै, गर्भावस्था स्याहार पूरक करारअन्तर्गत बीमा अवधिभित्र गर्भवती भएको प्रमाणित भएमा स्वास्थ्य सेवाका लागि एक पटक १० हजार रुपैयाँ उपलब्ध गराइनेछ। अग्रिम भुक्तानी सावधिक जीवन बीमा (मुनाफामा सरिक हुने) स्वरूपको यस योजनाको न्यूनतम बीमाङ्क रकम २ लाख ५० हजार रुपैयाँ तोकिएको छ भने अधिकतम रकम आम्दानीको आधारमा निर्धारण गरिनेछ। बीमितको प्रवेश उमेर १८ देखि ६५ वर्षसम्म रहनेछ। साथै दुर्घटना मृत्यु लाभ, पूर्ण स्थायी अशक्तता सुविधा तथा बीमाशुल्क छुट सुविधा जस्ता विभिन्न ऐच्छिक पूरक करारहरू समेत समावेश गर्न सकिने कम्पनीले जनाएको छ।
नारीको सुरक्षा, आत्मनिर्भरता तथा दीर्घकालीन आर्थिक सुनिश्चिततालाई केन्द्रमा राखी तयार गरिएको यस योजनाले नियमित आम्दानी, बचत र आर्थिक सुरक्षालाई एकैसाथ सुनिश्चित गर्ने लक्ष्य लिएको कम्पनीको विश्वास छ।

Online Arthik










