नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन उल्लङ्घन गरेको भन्दै तीन ब्रोकर कम्पनीलाई जरिवाना गरेको छ। बोर्डले ती कम्पनीलाई कुल ९० लाख रुपैयाँसम्म जरिवाना गरेको जनाएको छ। बोर्डका अनुसार सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ७क. को उपदफा (४) को खण्ड (घ) तथा दफा ७ग अन्तर्गतका प्रावधान उल्लङ्घन भएपछि कारबाही गरिएको हो। उक्त कानुनी व्यवस्थाअनुसार कुनै व्यक्तिले अर्को व्यक्तिको तर्फबाट व्यावसायिक सम्बन्ध स्थापना वा कारोबार गर्दा सम्बन्धित व्यक्तिको पहिचान, प्रमाणीकरण तथा अख्तियारनामा सहितका आवश्यक कागजात अनिवार्य रूपमा लिनुपर्ने हुन्छ। साथै वास्तविक धनी (beneficial owner) को पहिचान तथा पुष्टि गर्न आवश्यक प्रक्रिया अपनाउनुपर्ने व्यवस्था रहेको छ।

दफा ७ग अनुसार सूचक संस्थाले व्यावसायिक सम्बन्ध स्थापना गर्दा वा कारोबार गर्दा वास्तविक धनीको पहिचान र प्रमाणीकरणका लागि उचित उपाय अपनाउनुपर्नेछ। साथै कुनै व्यक्तिले अर्को व्यक्तिको तर्फबाट कारोबार गरेको पाइएमा सम्बन्धित व्यक्तिको पहिचान र कागजात प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ। यही प्रावधान उल्लङ्घन गरेको पाइएपछि बोर्डले Sipla Securities, Shree Krishna SecuritiesHatemalo Financial Services लाई जरिवाना गरेको हो।

बोर्डले सिप्ला सेक्युरिटिजलाई ५० लाख रुपैयाँ जरिवाना तिराएको छ भने श्रीकृष्ण सेक्युरिटिज र हातेमालो फाइनान्सियल सर्भिसेजलाई ३०–३० लाख रुपैयाँ जरिवाना गरेको जनाएको छ। सेबोनका अनुसार उक्त कारबाही ऐनको दफा ७फ. को उपदफा (१) को खण्ड (ख) बमोजिम गरिएको हो, जसअनुसार सूचक संस्थालाई एक लाखदेखि एक करोड रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था रहेको छ।

तपाईको प्रतिक्रिया