सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक ललितपुरले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर सिंह देउवालाई सात दिनभित्र विभागमा उपस्थित हुन सूचना जारी गरेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका क्रममा केही विषयमा बुझ्नुपर्ने भएकाले उनलाई विभागमा उपस्थित हुन भनिएको हो।

विभागका अनुसार जयविर सिंह देउवा डडेलधुरा जिल्लाको साविक आसिग्राम गाविस–५ का स्थायी बासिन्दा हुन् भने हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–२ मा बसोबास गर्दै आएका छन्। उनलाई ललितपुरको पुल्चोकस्थित कर्मचारी सञ्चय कोषको केन्द्रीय कार्यालय रहेको भवनमा रहेको विभागको कार्यालयमा बाटोको म्यादबाहेक सात दिनभित्र उपस्थित हुन निर्देशन दिइएको छ।

सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ४१ बमोजिम सूचना जारी गरिएको विभागले जनाएको छ। तोकिएको अवधिभित्र उपस्थित नभए प्रचलित कानुनअनुसार थप प्रक्रिया अघि बढाइने चेतावनी पनि विभागले दिएको छ।

तपाईको प्रतिक्रिया