प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार बिहान नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ। ‘वान टु वान’ भेटवार्ताका क्रममा दुवै प्रधानमन्त्रीले उपहार आदानप्रदान गरेका थिए। भारतीय प्रधानमन्त्री मोदीले शाहलाई गंगाजलसहितको घडा उपहार दिएका थिए भने प्रधानमन्त्री शाहले मोदीलाई पशुपतिनाथको चन्दन, रुद्राक्ष र शालिग्रामसहितको सेट प्रदान गरेका थिए।

व्यक्तिगत भेटवार्तापछि नेपाल–भारत प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक सुरु भएको छ। बैठकपछि दुई देशबीच आधा दर्जनभन्दा बढी समझदारीपत्र (एमओयू) तथा सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ। त्यसपछि प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रूपमा सञ्चारमाध्यमलाई भेटवार्ता तथा भ्रमणका उपलब्धिबारे जानकारी दिने कार्यतालिका छ।

यसअघि प्रधानमन्त्री शाहलाई हैदराबाद हाउसमा गार्ड अफ अनर प्रदान गरिएको थियो। त्यसलगत्तै उनले राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरेका थिए।

तपाईको प्रतिक्रिया