सीडीएस एण्ड क्लियरीङ (सीडीएससी)ले शेयर कारोबारको राफसाफ समय एक दिन घटाई धितोपत्र तथा रकमको भुक्तानीमा कडाइ गरेको छ ।

सीडीएसीले गरेको नयाँ व्यवस्था अनुसार शेयर खरिद गर्ने लगानीकर्ताले किनेको भोलिपल्ट रकम भूक्तानी तथा बिक्री गर्नेले ई–डीआईएस बुझाउनु पर्छ ।

सीडीएसले जारी गरेको नयाँ कारोबार राफसाफ चक्र अनुसार कारोबार भएको २ दिनपछि सम्पन्न गर्ने गरि तय गरेको छ । आगामी ११ गतेदेखि ‘टी प्लस टू’ कार्यान्वयनमा ल्याउने निश्चित समेत गरिसकेको छ।

संशोधित विनियमावली अनुसार राफसाफ तथा फर्छ्यौट गर्न लगानीकर्ता, राफसाफ सदस्य, निक्षेप सदस्य र राफसाफ बैंकले गर्नुपर्ने काम समेत तेकिदिएको छ।

लगानीकर्ताले गर्नुपर्नेः

धितोपत्र बिक्री गर्ने लगानीकर्ताले टी प्लस वान् अर्थात् कारोबार भएको मितिको भोलिपल्ट ई–डीआईएस जारी गर्नुपर्छ । इ–डीआइएस जारी गर्न नसक्ने लगानीकर्ताले टी प्लस वान् भित्र भौतिक निर्देशन पूर्जी जारी गरी सम्बन्धित निक्षेप सदस्यकोमा बुझाउनु पर्छ ।

धितोपत्रको खरिद गर्ने लगानीकर्ताले सम्बन्धित राफसाफ सदस्यलाई टी प्लस वान् अर्थात् कारोबार भएको मितिको भोलिपल्टै रकम बुझाउनु पर्छ ।

राफसाफ सदस्यले गर्नुपर्नेः

धितोपत्रको बिक्री गर्ने राफसाफ सदस्यले पूँजीगत लाभकर गणनाका लागि आवश्यक डब्लुएसीसी सम्बन्धी विवरण विक्रीकर्ता लगानीकर्ता बाट प्राप्त गरि टी प्लस टूको बिहान ११ बजे भित्र राफसाफ तथा फर्छ्यौट प्रणाली (सीएनएस) मा प्रविष्टि गर्नुपर्छ ।

धितोपत्रको बिक्री गर्ने राफसाफ सदस्यले राफसाफ खातामा शेयर जम्मा भएको यकिन गरि कुनै विक्री कर्ताले निर्धारित समयावधि भित्र आफ्नो राफसाफ खातामा जम्मा नगराएको खण्डमा टी प्लस टूको मध्यान्न १२ बजे भित्र सो बिक्रीकर्ताको विक्री कारोबारको सटेज मार्क गरिसक्नु पर्छ ।

धितोपत्रको खरिद गर्ने राफसाफ सदस्यले सम्पूर्ण विक्री तथा खरिद कारोबारको नेटिङ्ग पछि हुने रकम तथा अन्य कमिसन बुझाउनुपर्ने देखिएमा टी प्लस टूको मध्यान्न १२ बजे भित्र आफ्नो राफसाफ बैकमा रहेको राफसाफ खातामा जम्मा गरिसक्नु पर्छ ।

त्यस्तै, धितोपत्रको खरिद गर्नेले राफसाफ भैसकेको धितोपत्र सम्बन्धित खरिदकर्ताको हितग्राही खातामा टी प्लस टूमा राफसाफ तथा फर्छ्यौट सम्पन्न भए पछि यथाशीघ्र प्रणाली (सीएनएस) मार्फत् हस्तान्तरण गर्नुपर्छ ।

निक्षेप सदस्यले गर्नुपर्नेः

निक्षेप सदस्यले हरेक दिन बिहान ११ बजे भित्रमा मेरो शेयर मार्फत् प्राप्त ई–डीआईएसको फाईल जेनेरेट गरि केन्द्रीय निक्षेप प्रणालीमा(सीडीएएस) अपलोड गरि सोको कारोबार सफल भएको यकिन गरि मेरो शेयरमा सो ई–डीआईएस फाईल प्रोसेस गर्नुपर्छ ।

ई-डीआईएस जारी गर्न नसक्ने लगानीकर्ताले प्रदान गरेको भौतिक निर्देशन पूर्जी तत्काल प्रणालीमा प्रविष्टि गरि सो को जानकारी सम्बन्धित लगानीकर्तालाई प्रदान गर्नुपर्ने कम्पनीले जनाएको छ ।

राफसाफ बैंकले गर्नुपर्नेः

बैंकले हरेक दिन राफसाफ तथा फर्छ्यौट प्रणालीमा प्राप्त निर्देशन बमोजिम राफसाफ सदस्यको पुल खाताहरू, राफसाफ गृहको राफसाफ खाता तथा विभिन्न कमिसन खाताहरूमा आवश्यक रकम डेविट वा क्रेडिट गरि सो को जानकारी प्रणालीमा प्रविष्टि गर्नुपर्ने छ ।

तपाईको प्रतिक्रिया