नेपाल फाइनान्स लिमिटेडले हकप्रद सेयर निष्कासनपछि बाँकी रहेका संस्थापक समूहका सेयर लिलाम बिक्रीमा राखेको छ। कम्पनीले अवितरित ६ लाख ३२ हजार ९७१ कित्ता संस्थापक सेयर आज जेठ २९ गतेदेखि बिक्री खुला गरेको हो।
कम्पनीका अनुसार उक्त सेयर खरिदका लागि इच्छुक लगानीकर्ताले असार १२ गतेसम्म आवेदन दिन सक्नेछन्। लिलाम प्रक्रियामार्फत बिक्री गरिने सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताहरूले सो मूल्य वा सोभन्दा बढी मूल्य प्रस्ताव गर्दै बोलकबोल आवेदन पेश गर्नुपर्नेछ।
सेयर बिक्री व्यवस्थापकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले पाएको छ। लगानीकर्ताहरूले प्रभु क्यापिटलको कार्यालयका साथै नेपाल फाइनान्सको कमलादीस्थित केन्द्रीय कार्यालय र बनेपा, माछापुच्छ्रे, लगनखेल तथा तिलोत्तमा शाखामार्फत आवेदन दिन सक्नेछन्। त्यसैगरी, प्रभु बैंकका विराटनगर, वीरगञ्ज, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट समेत सेयर खरिदका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
हकप्रद सेयर निष्कासनपछि वितरण हुन नसकेका संस्थापक समूहका सेयर लिलाममार्फत बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ। यस लिलाममा योग्य लगानीकर्ताले प्रतिस्पर्धात्मक मूल्य प्रस्ताव गरी सेयर खरिद गर्न सक्नेछन्।

Online Arthik










