वाल्यकालका स्मृतिहरु सबैका लागि उत्तिकै प्रिय हुन्छन् । कतिपय पीडादायी होलान् कतिपय जीवन उपयोगी शिक्षा प्रदान गर्र्दै जीवनलाई सहज बनाउन समेत सहयोगी होलान् । जति उमेरले नेटो काट्दै जान्छ उति नै वाल्यकालका स्मृतिहरु झ्न प्रगाढ हुदै जाँदो रैछ । भर्खरै आफैसँग भएको चावी, चस्मा, कलम वा अन्य जरुरी सामान राखेको सम्झन नसक्ने दिमागले दशकौं अघिका ती ससना घटना परिघटना कसरी स्मरणमा राख्ने रैछ कुनी ?
मेरो वाल्यकालको करिब छ वर्ष हजुरबा हजुरआमा र पाँच जना काकाबाहरु सहितको संयुक्त परिवारमा नारेश्वरस्थित मूल घरमा नै बितेको हो । खै कति वर्षको उमेरदेखिका स्मृति दिमागमा अडे भन्न त सक्दिन । तैपनि त्यहाँ रहँदाका कतिपय घटना भने कथाका कितावमा पढे झै र चलचित्रको कथानकमा बुनिएझैं दिमागमा घुमि नै रहन्छन् । अझ रमाइलो कुरा त अझै पनि सानो उमेरमा भएका घटनाहरु उस्तै गरी सपनीमा आइरहन्छन् । साथीहरुको उनै रुप, उ वेलाकै ठाउँ वस्ती जुन अहिले त निकै परिवर्तन भैसक्यो । आफन्त वीचको उस्तै आत्मियता । भलै कतिपय साथीहरु सम्पर्कमा छैनन् । कति प्रियजन संसारमा नै पनि छैनन् तर तिनको स्मृति किन मेटिन नसकेको होला ? सायद बालहृदयमा जडिएको क्यामेरा निकै नै प्रभावशाली हुने रैछ क्यार ।
हाम्रा बाले हरेक चाडवाडमा छोराछोरीले कुनै सामान माग गर्दा भन्ने गर्नु हुन्थ्यो बाउ भएपछि थाहा पाउलास् । त्यतिबेला त्यस्तो वाक्यको अर्थ बुझन् न त चासो भयो न महत्व नै । तर जति जिम्मेवारीमा थिचिदै गईयो बाका हरेक वाक्य स्वयमसिद्ध रुपमा प्रमाणित हुँदै गए । आज विश्व नै कोरानाको महामारीबाट निकै जटिल मोडमा गुज्रिरहे पनि नेपालीको घरदैलोमा दशैं आउन रोकिएको छैन । बाले भन्नु भए जस्तै धेरै बाहरुलाई पक्कै सजिलो छैन । हुर्किरहेको लाखौं बालबालिकाहरुलाई के था पोहोरको दशैं र यसपालीको दशै किन फरक छ भनेर । बाको तलब आएको छ की छैन्? बालाई रुघाखोकी लागेको छ की छैन् । आफुलाई ज्वरो आउँदा बाको मनमा कति ढयांग्रो ठोकेको छ? अस्ति भर्खर हजुरआमा विरामी हुँदा गहना बेचेर अस्पतालमा बुझाएको के था? मात्र थाहा छ यसपाली कस्तो लुगा किनिदिने हुन ? जुत्ता किनिदेलान की नही ?
म मेरो बालस्मृतिको आधारमा यस्तै कुराहरु अनुमान गर्न सक्छु । संयुक्त परिवारमा बस्दा निकै कम उमेरको भएका कारण लुगोका व्यवस्था कसरी हुन्थ्यो थाहा थिएन तर अलि अलि अनुमान गर्न सक्छु । जिल्लामा नै कहलाएको कपडा पसल थियो बाले चलाउने । दशैं शुरुवात हुनु अगावै बा अथवा हजुरबा नेपाल ९काठमाडौंं० जानु हुन्थ्यो कपडा लिन । गोरखामा मोटर बाटो नबनुन्जेल त हिडेर नै काठमाडौ पुग्ने र सामान ल्याउन पथ्र्यौ भन्ने सुनें । हामीले थाहा पाउँदा पनि दशैंको बेलामा एक हप्ता हराउनु हुन्थ्यो बा । कपडा लिन जान भनेर । त्यतिवेला पनि गोरखाबजारबाट कम्तीमा दश जना भरीया लहरै कपडाको भारी बोकेर घरतिर आउँदै गरेको दृश्य सम्झन्छु । पसलमा लेकाली भाषामा कुरा गर्ने ठूूलो समुह हुन्थ्यो । कपडा राख्ने ठाउँ हुन्थेन । हामी त सानै थियौं तर काका र ठुल्दाइसम्मलाई राती अवेरसम्म कुटमा कपडा बेरेर थान बनाउन
पर्दथ्यो । कसैले कपडामा परलमोलमा नाफा राखेर रेट राख्न लाउनु हुन्थ्यो । त्यो पनि अरुले नबुझने संकेत प्रयोग गरेर । जुन मैले बुझने भएपछि थाहा पाएँ । अचम्म लाग्छ बाले गर्नु भएको कतिपय कामहरु त मैले निके पढेर ज्ञान आर्जन गरेपछि पो बुझन पाइरहेको छु ।

गोरखा जिल्ला निकै विकट जिल्लामा नै पर्दथ्यो केही दशक अघिसम्म पनि । अझै हिमाल र चीनसँग सीमाना जोडिएको क्षेत्रको अवस्था त उस्तै छ । गोरखाको सीमना जोडिएका तनहुँ, लम्जुंग र धादिंग जिल्लााका ग्राहक पनि जोडिन्थे बाको पसलमा । निकै दूर लेक र हिमाली क्षेत्रदेखि सात दिनसम्मको बाटो हिंडेर बाको पसलमा ।सामान किन्न आउने ग्राहक हुन्थे । आफै पकाएर खाने । खाली स्थानमा सुत्ने र रातीमा गीत नाच समेत गरेर समय काटेको याद आउँछ । सानो छदैं परिवारका सदस्यहरुले यस्तैमा हात गोडा चलाएर नाँच्न सिकाएको प्रभाव होला अहिले पनि लोकगीतमा नाच्न पाउँदा त्यहि उमेर र परिदृश्यमा पुगेको महसुस हुन्छ । कतिपय ग्राहकले त हिडन सक्ने सन्तानलाई लुगा रोजाउन पसल मै ल्याउँथे । उधारोमा निकै कारोवार हुन्थ्यो । पोहोर सालको बक्यौता तिरेर यस वर्षको लुगा किन्ने प्रचलन थियो । विचारा १ कतिपय ग्राहकहरुको परिवारको संख्या बढदै जान्थ्यो । ऋणको भार बढदै जान्थ्यो । सकुन्जेल र बाले पत्याउन्जेल बाको पसलमा आउँथे ।तर धान्न नसक्ने भएपछि आँखा छलेर भाग्दै हिंडथे । अहिलेको बैंकिग प्रणालीमा पनि ठयाक्कै यस्तै देख्छु । एउटा बैंकबाट लिएको साँवा व्याज तिर्न नसकेर अर्कोमा सर्ने ग्राहकको प्रवृति तथा स्वभाव मैले त पहिलै नै बुझेको हो । कडा मिजासका बाले भागेर हिडने त्यस्ता ग्राहकको कठालो समातेर कडा व्यवहार पनि गर्नु हुन्थ्यो । वा कडा भएपनि कोमल हृदयको हुनुहुन्थ्यो । सत्य बोल्नेलाई जति पनि ऋण थपेर दिने । कतिपय ग्राहकका परिवारलाई कपडा नपुगे थपेर पनि दिनु हुन्थ्यो तर छल्न खोज्नेलाई निकै कडा गर्ने । साँच्चै भन्ने हो भने बाले यसरी उधारो कारोवार गरेर व्यापार गर्नु परेको र त्यसवेला बाल हृदयमा परेको नकारात्मक छवीले नै मभित्र व्यवसायप्रति नकारात्मक धारणा विकास हुँदै गएर व्यापार नगर्ने प्रतिवद्धता हुर्कदै गएको थियो ।
बाले परिवारका सदस्यहरुका लागि कपडा बेच्दै जाँदा बचेको टुक्रा बच्चाहरुको रुप रंग र आकार हेरेर चयन गरी विभिन्न डिजायनका लुगा सिलाउन दिनुहुन्थ्यो । त्यतिवेला सवैको लुगा अलग अलग देखिन्थ्यो । पसलमा नविकेको अलि कति कैफियत देखिएको कपडा सदस्यहरुलाई दिनु ुहन्थ्यो । अहिले सम्झदा बाको त्यो व्यवस्थाकीय कौशलको निकै प्रशांसा गर्न मन लाग्छ । बाले हामी बच्चाहरुले रोजेको दिने प्रचलन गर्नु भएको भए हामी वीचमा तँछाड मछाड हुन्थ्यो होला । राम्रो नराम्रो छुटयाउने बानी हुन्थ्यो होला । एकअर्कावीच मनमुटाव हुन्थ्यो होला तर बाले छानेर दिनु भएको लुगामा कसैको पनि मतभेद हुन्थेन । जे होस् बाका सात सन्तानलाई हरेक दशैमा एकसरो नयाँ लुगाको व्यवस्था गर्नै पथ्र्यौ । बरु दशै बाहेक अरु वेला लुगा, जुत्ताको चर्चा त्यति हुदैन थियो । अझ रमाईलो कुरा त सिलाईको सन्दर्भमा हुन्थ्यो । हामी मूलघरबाट छुटिएर सतिपिपल गएपछि बाले पुरानो मोडल परिवर्तन गर्नु भयो । छ वटा छोराहरुका लागि काठमाडौंबाट नै एउटा फरक खाले कपडाको थान ल्याएर सबैलाई एउटै खाले कपडा सिलाउन दिनु हुन्थ्यो । हाम्रा घरमा नै बसेर सिलाई गर्ने दर्जीहरु हुन्थे । निकै व्यस्त हुन्थे तर बाले सधै ढिला गरी कपडा दिने भएकोले सिलाईमा सधै ढिलाई हुन्थ्यो । कतिपय बर्ष त टिका लाउन मूलघर जाने वेलासम्म नी हामी दर्जीकै कल अघि लुगा सिलाएको हेरेर बस्थ्यौं । आइरन लाउने भन्ने त संभव थिएन कतिवेला त सिलाई सक्नु वित्तीकै उनेर कुदथ्यौ । ती लुगाहरु कुनै छैनन् संकलनमा तर बाल्यकालमा लगाएका सवै लुगाहरुको रंग, डिजायन र त्यतिवेलाको खुशी सबै स्मृतिमा हटन सक्दैनन् । हृदयमा कति छन् कति यस्ता स्मृति । आज हजारौं पर्ने तयारी लुगा किनिएला । महंगो सुट लगाएर देश विदेश गरिएला तर कहिले पनि त्यो वेलाको जस्तो खुशी किन्न सकिन्न ।

#राजनविक्रम थापा
नारेश्वर, २ गोरखा

तपाईको प्रतिक्रिया